Skip to main content

क्रेडिट स्कोरिङमा आधारित व्यक्ति–व्यक्तिबीच कर्जा कारोबार सञ्चालनको तयारी

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्ति–व्यक्ति (पियर टु पियर) कर्जा लेनदेन सञ्चालन गर्ने प्लेटफर्मको सम्बन्धमा अध्ययन गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत यस्तो कारोबार सञ्चालनका सम्भाव्यता र प्रक्रिया अध्ययन गर्ने घोषणा गरेको हो।

केन्द्रीय बैंकले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित पियर टु पियर लेनदेन सञ्चालन गर्ने सम्बन्धमा हुने अध्ययन आगामी मौद्रिक नीतिमा समेटिएको छ। यो प्लेटफर्मले पैसा आवश्यक पर्ने र पैसा सापटी दिन इच्छुक दुवै पक्षलाई एउटै ठाउँमा जोड्नेछ। पैसा दिन इच्छुक ऋणदाता यसमा जोडिन्छन् र आफूले दिने सक्ने ऋणको रकम तय गर्न पाउँछन्।

त्यस्तै गरी ऋण लिन चाहनेहरूले पनि यस प्लेटफर्ममा सामेल भएर आवश्यक रकम निश्चित अवधि र ब्याजदरमा प्राप्त गर्न सक्छन्। प्लेटफर्ममा आबद्ध हुने ऋणदाता र ऋणी दुवैको क्रेडिट इतिहास तथा वित्तीय व्यवहारको मूल्याङ्कन गरिन्छ। जसले गर्दा योग्य ठहरिएका मात्र ऋणदाता र ऋणीहरूले प्रणालीमा आबद्ध हुन पाउँछन्। कर्जाको ब्याजदर जोखिमको तहअनुसार निर्धारण गरिनेछ। बढी जोखिम बोकेको ऋणीलाई उच्च ब्याजदर लाग्नेछ भने कम जोखिम भएका ऋणीलाई कम ब्याजदर लागू हुनेछ।