Skip to main content

म्याद गुज्रेको खाद्यवस्तु बिक्री गरेपछि तिनकुनेको मट्का बिरयानीलाई २ लाख रुपैयाँ जरिवाना

२३ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता हितविपरीत कार्य गर्ने तीन वटा पसल र फर्मलाई २ लाख २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। विभागले मंगलबार काठमाडौं उपत्यकाका १३ वटा उद्योग र फर्महरूको अनुगमन गरेको थियो। सबैभन्दा बढी जरिवाना काठमाडौं महानगरपालिका–३२, तिनकुनेस्थित मट्का बिरयानी क्लाउड किचनलाई तिराइएको छ। म्याद गुज्रिसकेको खाद्यवस्तु बिक्री गरेको पाइएपछि उक्त किचनलाई विभागले २ लाख रुपैयाँ जरिवाना लगाएको हो।

त्यसैगरी, खरिद बिल/विजक नदेखाएको कारणले अन्य दुई पसल कारबाहीमा परेका छन्। काठमाडौं महानगरपालिका–७, गणेशस्थानस्थित इलाभेन इलाभेन ओयर्सलाई २० हजार रुपैयाँ र सोही वडाको चाबहिलस्थित फुयाल खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ। अनुगमन टोलीले ललितपुर महानगरपालिका–२, सानेपामा रहेको तः नानी ट्रेडिङ कम्पनी प्रालिलाई व्यवसायसँगसम्बन्धित दर्ता प्रमाणपत्र, प्यान, खरिद/बिक्री बिल विजक र कर चुक्ता लगायत कागजातहरू लिएर ३ दिनभित्र विभागको बबरमहलस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। अनुगमनका क्रममा बाँकी ९ वटा पसल तथा कम्पनीलाई विभागले सामान्य निर्देशन दिएर छाडेको छ।