Skip to main content

कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्डले ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गर्यो

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलमा पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४-३ ले हराउँदै स्विट्जरल्यान्डले ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको छ। २४ असार, काठमाडौं। निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा कोलम्बियाका दुई खेलाडीले पेनाल्टी मिस गर्दा स्विट्जरल्यान्डले क्वार्टरफाइनलमा पुग्ने अवसर पाए।

कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे भने डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा गोल गर्न असफल भए। स्विट्जरल्यान्डका ४ खेलाडीले गोल गर्दा एकजनाले गोल गर्न सकेनन्। ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे भने म्यानुअल अकांजीले गोल गर्न सकेनन्।

सन १९५४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्ड त्यसयता समूह चरण र अन्तिम १६ बाटै बाहिरिदै आएको थियो। १३औं पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डले चौथोपटक क्वार्टरफाइनलको यात्रा तय गरेको छ। अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ।