Skip to main content

फिफा विश्वकपमा चम्किएको केप भर्डे र चीनसँगको विशेष सम्बन्ध

२४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी भएर विश्वभरको मन जितेको अफ्रिकी टापु राष्ट्र केप भर्डेको सफल यात्रामा चीनको पनि महत्वपूर्ण भूमिका रहेको खुलेको छ । केवल पाँच लाखभन्दा केही बढी जनसंख्या रहेको केप भर्डेले विश्वकपमा डेब्यू गर्दै नकआउट चरणसम्मको यात्रा तय गर्‍यो । राउन्ड अफ ३२ मा विश्व च्याम्पियन अर्जेन्टिनासँग अतिरिक्त समयमा ३–२ को कठोर हार भोगे पनि, आफ्नो प्रदर्शनबाट विश्व फुटबल समर्थकको मन जित्न सफल भयो ।

विशेषगरी कप्तान तथा गोलकिपर जसिमार इभोरा डियास (भोजिन्हा) ले गरेका उत्कृष्ट बचाउहरूले उनलाई विश्वभर चर्चामा ल्यायो । विश्वकपमा भोजिन्हाले लगाएको फुटबल बुट भने चिनियाँ कम्पनीले बनाएको रहेको खुलेको छ । दक्षिणपूर्वी चीनको फुजियान प्रान्तस्थित छुफेङ स्पोर्ट्सले उत्पादन गरेको जुत्ता उनले विश्वकपभर प्रयोग गरेका थिए । प्रतियोगिताबाट अघि कम्पनीले २०० भन्दा बढी जोडी फुटबल बुट उत्पादन गरिसकेको थियो भने विश्वकपका लागि थप २० जोडी तयार गरेको जनाएको छ । भोजिन्हाको उत्कृष्ट प्रदर्शन सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र कम्पनीले यो कुरा थाहा पाएको बताइएको छ । त्यसपछि उक्त ब्रान्डका जुत्ता खरिद गर्न चाहने समर्थकहरूको फोनको भीड लागेको छ, कम्पनीले जनाएको छ ।

केप भर्डेको विश्वकप यात्रा चीनसँग अर्को कारणले पनि जोडिएको छ । टोलीले विश्वकप छनोटअघिका प्रशिक्षण र ऐतिहासिक छनोट खेलहरू राजधानी प्रेयामा रहेको चिनियाँ सहयोगमा निर्माण गरिएको राष्ट्रिय रंगशालामा खेलेको थियो । सन् २०१४ मा निर्माण भएको १५ हजार दर्शक क्षमताको उक्त रंगशाला चीनको आर्थिक सहयोगमा बनेको हो । चीनका लागि केप भर्डेका राजदूत अर्लिन्डो डो रोसारियोले चीनले देशको खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएको बताए । उनले आगामी दिनमा नवीकरणीय ऊर्जा, डिजिटल अर्थतन्त्र, पर्यटन र प्रविधि क्षेत्रमा पनि चीनसँग सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेका छन् ।

विश्वकपबाट बाहिरिएपछि केप भर्डे टोलीले चिनियाँ समर्थकलाई समेत विशेष धन्यवाद दिएको थियो। ‘हामीलाई समर्थन गर्ने सबै चिनियाँ नागरिकप्रति आभारी छौं। तपाईंहरूले देखाउनुभएको माया र साथका लागि धन्यवाद,’ भन्दै टोलीले एक सन्देश जारी गरेको थियो।

सन् १९७६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता चीनले केप भर्डेमा विभिन्न पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ। राष्ट्रिय रंगशालासँगै बाँध, विश्वविद्यालय परिसर र सरकारी भवनहरूको निर्माणमा पनि चीनको सहयोग छ। यस्तै, चीनमा बसोबास गर्ने व्यवसायी लिन जीले भोजिन्हाकी आमालाई छोरा विश्वकप खेल्न अमेरिकामा पुगेका बेला अमेरिकी भिसा प्राप्त गर्न आर्थिक तथा प्रशासनिक सहयोग गरेको घटना चीनमा निकै चर्चित बनेको थियो। भोजिन्हाको विश्वकप प्रदर्शन र यी घटनापछि चीनमा केप भर्डेबारे चासो उल्लेखनीय रूपमा बढेको बताइन्छ। स्थानीय सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनासँगको खेलपछि २४ घण्टाभित्र केप भर्डेसम्बन्धी अनलाइन खोज २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो।

गत वर्ष चीन र केप भर्डेबीच करिब ११६ मिलियन अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार भएको थियो, जसमा अधिकांश हिस्सा चीनबाट हुने निर्यातको रहेको छ।