२४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी समझदारीपत्र (एमओयू) अब समाप्त भइसकेको विश्वास व्यक्त गरेका छन्। बुधबार नाटो शिखर सम्मेलनमा बोल्दै उनले भने, ‘उनीहरूसँग वार्ता गर्नु समयको बर्बादी हो।’ यसअघि, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले इरानमाथि गरेको आक्रमणको जवाफमा बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको थियो। ट्रम्पको यो प्रतिक्रिया त्यसलगत्तै आएको हो।
टर्कीमा आयोजित नाटो शिखर सम्मेलनमा बोल्दै ट्रम्पले इरानमाथि स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूलाई निशाना बनाएर युद्धविराम उल्लंघन गरेको आरोप लगाए। उनले इरानलाई ‘धोकेबाज खेलाडी’ भन्दै कडा आलोचना गरे। ट्रम्पले अमेरिका अब इरानसँग कूटनीतिक वार्तामा अल्झिनुभन्दा आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताए। उनले इरानलाई ‘दुष्ट र विकृत सोच भएका मानिसहरूको शासन’ भन्दै आलोचना गरे।
ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई वासिङ्टन र तेहरानबीचको सम्बन्ध थप तनावपूर्ण हुँदै गएको संकेतका रूपमा हेरिएको छ। इरानसँगको सम्भावित कूटनीतिक सहमति अहिले लगभग विफल भएको आकलन गरिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन्। उनले एक वक्तव्यमा अमेरिकाले गरेका आक्रमण, इरानी तेल विक्रीमा लगाइएको प्रतिबन्ध, र लेबनानमा हिजबुल्लाहसँग जारी इजरायलको तनाव जस्ता विषयहरूले सम्झौताका आधारभूत हिस्सालाई निष्प्रभावी पारेको दाबी गरेका छन्।
अराघचीले भने, ‘इरान आफ्नो क्षेत्रीय अखण्डता, राष्ट्रिय सम्प्रभुता र राष्ट्रिय सुरक्षाको रक्षाका लागि जुनसुकै कदम उठाउन हिचकिचाउने छैन।’ उनले अमेरिकी सैनिक अड्डा रहेको खाडी देशहरूलाई पनि चेतावनी दिएका छन्। उनले भने, ‘यदि त्यहाँबाट इरानमाथि कुनै आक्रमण भए, तिनको स्रोत र सुरु हुने स्थानलाई नै निशाना बनाउनेछौं।’ यसअघि अमेरिकी सेन्टकमले अमेरिकी सेनाले इरानका ८० भन्दा बढी ठिकानाहरूमा आक्रमण गरेको दाबी गरेको थियो। त्यसको जवाफमा इरानले बहराइनमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर केही आक्रमण गरेको बताइएको छ।

