टेलिकम कम्पनीहरूले थ्रीजी सेवा बन्द गर्दै, ग्राहकहरूले सीम परिवर्तन गर्न सक्ने
२४ असार, काठमाडौं । टेलिकम कम्पनीहरूले आफ्नो थ्रीजी सेवा बन्द गर्ने प्रक्रिया अघि बढाएका छन्। नेपाल टेलिकम र एनसेलले क्रमशः थ्रीजी सेवालाई बन्द गर्दै फोरजी सेवामा स्तरोन्नति गर्ने योजना बनाएका छन्। नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार थ्रीजी सेवा बन्द गर्ने काम भूगोल आधारित ‘क्लस्टर’ प्रणाली अन्तर्गत गरिँदैछ। यसका लागि वायरलेस सेवा निर्देशनालय अन्तर्गत समितिहरू गठन गरेर काम भइरहेको छ। देशभर रहेका करिब ३ हजार टावर (साइट) मध्य करिब २९६० साइटलाई थ्रीजी सेवा हटाउने प्रक्रियामा नेपाल टेलिकम जुटेको छ। यसअघि करिब ४० साइटमा थ्रीजी सेवा बन्द भइसकेको थियो। थ्रीजी सेवा हटाउन हाल चितवनको एउटा क्लस्टरमा काम भइरहेको छ र सफलतापछि आगामी आर्थिक वर्षभित्र देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने योजना रहेको छ, प्रवक्ता लामिछानेले जानकारी दिए।
लामिछानेका अनुसार भ्वाइस कल थ्रीजी, टुजी वा फोरजी जुनसुकै नेटवर्कमा भए पनि भोल्टे (VoLTE) मार्फत उपलब्ध हुन्छ। तर डाटा सेवाको गुणस्तर फोरजीमा बढी राम्रो हुने भएकाले विश्वभर धेरै देशमा थ्रीजी वा टुजी हटाई फोरजी र फाइभजी नेटवर्कलाई प्राथमिकता दिइरहेको छ। नेपाल टेलिकमले पनि त्यसै अनुरूप अघि बढेको हो। थ्रीजी सेवा बन्द गर्दा प्रयोगकर्ताहरूलाई कुनै असहजता नहोस् भनेर योजनाबद्ध रूपमा काम भइरहेको लामिछानेले बताए।
नेपाल टेलिकमका अनुसार हाल करिब ६ लाखले थ्रीजी सेवा प्रयोग गरिरहेका छन् र ती ग्राहकलाई क्रमशः फोरजीमा सार्ने काम भइरहेकाले प्रयोगकर्ताले निःशुल्क सीम अपरिवर्तित गर्न पाउने सुविधा दिइएको छ। ‘यदि कसैले सीम परिवर्तनको अनुरोध गरे निशुल्क रूपमै परिवर्तन गर्न सकिन्छ,’ लामिछानेले भने, ‘थ्रीजी प्रयोगकर्ता लक्षित गरी हामीले आन्तरिक सन्देशमार्फत पनि सचेतना कार्यक्रम चलाइरहेका छौं।’ सिम परिवर्तनका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा अन्य सरकारी परिचयपत्र सहित नजिकको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्न सकिने जानकारी कम्पनीले दिएको छ।
एनसेलले पनि २२ असारदेखि पाँच प्रदेशका १३ जिल्लाका २२६ भन्दा बढी टावरहरूमा थ्रीजी सेवा बन्द गरेको छ। एनसेलका अनुसार कोशी प्रदेशका त्रियुगा, चौदण्डी, बेलका, कटारी, संखुवासभाको खाँदबारी, चैनपुर र धर्मदेवी, धनकुटाको पाख्रीबास, साँगुरीगढी र भोजपुरको टेम्केमैयु लगायत विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द भइरहेको छ। एनसेलका नेटवर्क प्रमुख लेना केशरी कंसाकारले नयाँ प्रविधि अपनाउने र सेवा गुणस्तर निरन्तर अभिवृद्धि गर्ने उद्देश्यले थ्रीजी सेवा बन्द गर्ने निर्णय गरिएको बताइन्।
‘सन् २०२७ को पहिलो तीन महिनाभित्र पूर्ण रूपमा थ्रीजी सेवा बन्द गर्ने लक्ष्य राखिएको छ’, उनले भनिन्। थ्रीजी सेवा बन्द भए पनि ग्राहकहरूले टुजी र फोरजी नेटवर्कमार्फत उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन्। एनसेलले पनि आगामी दिनमा फाइभजी जस्ता नयाँ प्रविधि सञ्चालनका लागि तयारी गरिरहेको जनाइएको छ।

