Skip to main content

इरानमाथि अमेरिकाको हवाई आक्रमण, इरानले भन्यो– निर्भीकताका साथ जवाफ दिनेछ

२५ असार, काठमाडौं । अमेरिकाले इरानमाथि नयाँ चरणको आक्रमण सुरु गरेको छ। इरानमाथिको नयाँ आक्रमणपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, ‘यो इरानले हिजो जहाजमाथि गरेको बम आक्रमणको बदला हो। यदि फेरि यस्तो भयो भने यसको परिणाम अझ खराब हुनेछ।’ इरानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको दक्षिणी क्षेत्रका केही स्थानमा विस्फोटका आवाज सुनिएका छन्। स्ट्रेट अफ हर्मुज (होर्मुज जलडमरू) नजिक रहेका सिरिक र बन्दर अब्बासजस्ता बन्दरगाह सहरहरूमा विस्फोटका आवाज सुनिएको छ। इरानको तटीय क्षेत्रमा रहेका कोनारक र चाबहार लगायतका स्थानमा पनि विस्फोटको आवाज सुनिएको छ।

इरानी सरकारी टेलिभिजनले बन्दर अब्बासमा आठ वटा विस्फोट भएको र दक्षिणी इरानका सिरिक तथा जास्क बन्दरगाहमा दुई वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ। त्यसैगरी, इरान र संयुक्त अरब इमिरेट्स (यूएई) बीच लामो समयदेखि स्वामित्व विवाद रहेको अबु मुसा टापुमा पनि दुई वटा प्रहार भएको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। इरानको बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ। अमेरिकी आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक भएको छैन। तर इरानी सञ्चारमाध्यमहरूले चाबहारमा विद्युत् अवरुद्ध भएको र बुसेहरमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को ब्यारेकमा आगलागी भएको बताएका छन्।

इरानले अहिलेसम्म पछिल्लो अमेरिकी आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर यसअघि उच्च अधिकारीहरूले अमेरिकाबाट कुनै पनि आक्रमण भए तत्काल जवाफ दिने चेतावनी दिएका थिए। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले यी आक्रमणहरू ‘महत्वपूर्ण जलमार्गमा आवतजावतको स्वतन्त्रतामाथि खतरा सिर्जना गर्ने तेहरानको क्षमतालाई थप कमजोर बनाउन गरिएको’ जनाएको छ। सेन्टकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महत्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र रूपमा आवतजावत गरिरहेका व्यापारिक जहाज र सर्वसाधारण चालक दलमाथि इरानले गरेको पछिल्लो अनुचित आक्रमणका लागि अमेरिकाले इरानलाई जिम्मेवार ठहराएको छ।’