Skip to main content

फ्रान्सविरुद्ध बदला लिने उद्देश्यले मोरक्को तयार, विश्वकप २०२६ क्वार्टरफाइनल भिडन्त आज

२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनलमा आज राति फुटबल इतिहासकै एक अत्यन्तै प्रतीक्षित र ‘हाई-भोल्टेज’ भिडन्त हुँदैछ। लगातार तेस्रो पटक विश्वकप फाइनलमा पुग्ने ऐतिहासिक कीर्तिमान बनाउन खोज्ने युरोपेली फुटबल दिग्गज फ्रान्स र अफ्रिकी फुटबल गौरव मोरक्को सेमिफाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन्। सन् २०२२ को कतार विश्वकप सेमिफाइनलमा भोगेको पराजयको बदला लिँदै पुनः इतिहास रच्ने प्रयासमा मोरक्को छ भने कप्तान किलियन एम्बाप्पेको नेतृत्वमा रहेको फ्रान्स आफ्नो आक्रमक लय कायम राख्दै उपाधि नजिक पुग्न चाहन्छ। मैदानभित्र विश्वस्तरीय खेलाडीहरूको भिडन्त र मैदानबाहिर मोरक्कन समर्थकहरूको उत्साहले यो खेल अत्यन्तै रोमाञ्चक एवं तनावपूर्ण हुने पक्का छ।

हालसम्मको यात्रा फ्रान्स : फ्रान्सले समूह ‘आई’ मा आफ्नो प्रभुत्व कायम गर्दै समूह विजेताका रूपमा नकआउट चरण प्रवेश गरेको हो। समूह चरणमा फ्रान्सले सेनेगललाई ३-१, इराकलाई ३-०, र नर्वेलाई ४-१ को शानदार जितसँगै पूर्ण अंक संकलन गर्‍यो। त्यसपछि राउन्ड अफ ३२ मा फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्‍यो। तर, राउन्ड अफ १६ मा बलियो रक्षात्मक टोली पाराग्वेसँग कडा संघर्ष गर्नुपर्‍यो, जहाँ कप्तान एम्बाप्पेको निर्णायक पेनाल्टी गोलको मद्दतमा १-० को कठिन तर परिपक्व जित निकाल्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

मोरक्को : सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्कोले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै समूह ‘सी’ को उपविजेताका रूपमा नकआउट चरण प्रवेश गर्‍यो। समूह चरणमा मोरक्कोले बलियो ब्राजिलसँग १-१ बराबरी खेल्दा स्कटल्यान्डलाई १-० र हाइटीलाई ४-२ को गोलअन्तरले पराजित गर्‍यो। नकआउट चरणको यात्रा मोरक्कोसँग निकै रोमाञ्चक रह्यो। राउन्ड अफ ३२ मा नेदरल्यान्ड्सविरुद्ध इसा डियोपको नाटकीय लेट गोलले खेललाई अतिरिक्त समयमा पुर्‍याइ टाइब्रेकरमा डच टोलीलाई स्तब्ध बनायो। त्यसपछि राउन्ड अफ १६ मा मोरक्कोले आयोजक क्यानाडाविरुद्ध ३-० को सहज विजय हासिल गर्‍यो जहाँ एजेदिन उनाहीले दुई गोल र सुफियान रहिमीले एक गोल गरे।

हेड टु हेड विश्वकपको मञ्चमा यी दुई टोलीबीच यो भेट पहिलो हो। सन् २०२२ को कतार विश्वकप सेमिफाइनलमा भएको त्यो ऐतिहासिक भिडन्तमा थिओ हर्नान्डेज र रन्डल कोलो मुआनीको गोलले फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलमा पुगेको थियो। मोरक्को आज त्यो पराजयको बदला लिने सुनौलो मौका पर्खिरहेको छ। अन्तर्राष्ट्रिय खेलहरूमा पनि फ्रान्सको प्रदर्शन उत्कृष्ट छ, तर मोरक्कोको वर्तमान टोली जुनसुकै ठूलो टोलीलाई निराश पार्न सक्षम मानिन्छ। कुल ६ भेटमा फ्रान्सले ४ खेल जितेको छ, मोरक्कोले १ जितेको छ र १ खेल बराबरीमा सकिएको छ। फ्रान्सले १४ गोल गर्दा मोरक्कोले ६ गोल गरेको छ।

टिम जानकारी फ्रान्स : फ्रान्सेली टोली आत्मविश्वासले भरिपूर्ण देखिन्छ। कप्तान एम्बाप्पे, ओसमान डेम्बेले र माइकल ओलिसे जस्ता कुशल आक्रमणकारी उच्च फिटनेसमा छन् भने ब्राडली बार्कोला लगातार बेन्चबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पाराग्वेसँगको कडा जितले टोलीको मानसिक परिपक्वता वृद्धि भएको फ्रान्स सहायक प्रशिक्षक गुइ स्टेफानले बताएका छन्। मोरक्को : मोरक्कोका इस्माइल साइबारी ह्यामस्ट्रिङ चोटबाट पूर्णरूपमा निको नभएकाले फ्रान्सविरुद्धको खेलमा उपलब्ध हुने छैनन्। उनीबाहेक टोलीमा अन्य चोट समस्या छैन। कप्तान अचरफ हाकिमी र डिफेन्डर इसा डियोपको रक्षापङ्क्ति बलियो देखिएको छ। मिडफिल्डमा उनाही र अग्रपङ्क्तिमा रहिमीको लय टोलीका मुख्य हतियार बन्नेछन्। प्रशिक्षक मोहम्मद उहबीले टोली क्वार्टरफाइनल पुगेर मात्र सन्तुष्ट नरहेको स्पष्ट पारे। ‘हाम्रो लक्ष्य भोलिको खेल जितेर सेमिफाइनल पुग्नु हो। यहाँसम्म आइपुग्नु मात्रै पर्याप्त छैन,’ उनले भने।

सम्भावित सुरुवाती ११ फ्रान्स (४-२-३-१): माइक मेनान (गोलकिपर), जुलियस कोन्डे, डायोट उपामेकानो, विलियम सालिबा, लुकास डिग्ने, मानु कोने, एड्रिएन राबियट, माइकल ओलिसे, ओस्मान डेम्बेले, ब्राडली बार्कोला, किलियन एम्बाप्पे मोरक्को (४-२-३-१): यासिन बोनो (गोलकिपर), अचरफ हाकिमी, इसा डियोप, ओसाम्मा हाल्हाल्, नुआसेर माजराउई, अयुब बुआदी, नेइल एल आयनाउई, ब्राहिम डियाज, एजेदिन उनाही, बिलाल एल खानौस, सुफियान रहिमी

खेल : फ्रान्स विरुद्ध मोरक्को, क्वार्टरफाइनल मिति र समय : २६ असार, विहान १:४५ बजेस्थान : बोस्टन स्टेडियम प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स