Skip to main content

गोल्डेन बुटको प्रतिस्पर्धामा चार खेलाडीबीच कडा संघर्ष

२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जित्ने संघर्ष जति रोमाञ्चक छ, त्यस्तै गोल्डेन बुटको दौड पनि ऐतिहासिक रूपमा कडा बनेको छ। यस संस्करणमा चार विश्वस्तरीय फुटबल स्टारहरू — लियोनेल मेसी, किलियन एमबाप्पे, एर्लिङ हालान्ड र ह्यारी केन बीच विश्वकपको सर्वाधिक गोलकर्ताको उपाधिका लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ। सामान्यतया विश्वकपमा एउटा खेलाडीले सहज रूपमा गोल्डेन बुट जित्ने परम्परा छ। तर यसपटक चारै खेलाडीले लगातार गोल गर्दै इतिहास रच्ने तयारीमा छन्। हाल अर्जेन्टिनाका कप्तान लियोनेल मेसी ८ गोलसहित शीर्ष स्थानमा छन्। फ्रान्सका किलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्डले समान ७–७ गोल गरेका छन् भने इंग्ल्यान्डका ह्यारी केनको गोल संख्या ६ छ।

अधिकांश विश्वकपहरूमा ५ वा ६ गोल गोल्डेन बुट जित्न पर्याप्त मानिन्छ। सन् २००६ मा मिरोस्लाभ क्लोजेले ५ गोलमा गोल्डेन बुट जितेका थिए। सन् २०१०मा थोमस मुलरले पनि ५ गोलमा विजेता बनेका थिए। सन् २०१८ मा ह्यारी केनले ६ गोल र २०२२ मा एमबाप्पेले ८ गोलसहित गोल्डेन बुट जितेका थिए। तर यसपटक यी संख्याहरू अझै दौडको सुरुवात जस्तो देखिन्छ। विश्वकपको करिब सय वर्षको इतिहासमा अहिलेसम्म केवल आठ खेलाडीहरूले एउटै संस्करणमा ८ वा सोभन्दा बढी गोल गरेका छन्। मेसी यस विशिष्ट सूचीमा प्रवेश गरिसकेका छन् भने एमबाप्पे, हालान्ड र केन पनि त्यो कीर्तिमान छुन नजिक छन्।

गोल्डेन बुट कसरी निर्धारण गरिन्छ? गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाडीले जित्छ। यदि गोल संख्या बराबर भएमा सबैभन्दा बढी असिस्ट गर्ने खेलाडीलाई विजेता घोषणा गरिन्छ। गोल र असिस्ट दुवै बराबर भए कम समय मैदानमा खेलेको खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ। मेसी अग्रस्थानमा छन् तर प्रतिस्पर्धा अझै खुला छ। मेसीले ८ गोल र १ असिस्ट गरेका छन्। उनले केवल ४१० मिनेट खेल्दै शीर्ष चार खेलाडीहरू मध्ये दोस्रो न्यूनतम समय मात्र खेलेका छन्। यदि अन्तिमसम्म गोल बराबरी भयो भने कम समय खेलेको आधारमा उनलाई फाइदा पुग्न सक्छ।

३९ वर्षीय मेसीले समूह चरणमा ६ र नकआउट चरणमा २ गोल गरेका छन्। उमेर बढे पनि निर्णायक क्षणमा खेलको दिशा परिवर्तन गर्ने उनी क्षमता अझै कायम राखेका छन्। एमबाप्पे फेरि इतिहास रच्न तयार छन्। पूर्व गोल्डेन बुट विजेता एमबाप्पेले यस विश्वकपमा ७ गोल र २ असिस्ट गरेका छन्। उनले समूह चरणमा ४ र नकआउटमा ३ गोल गरेका छन्। यदि उनले ८ गोलको संख्यामा पुग्नुभयो भने दुई फरक विश्वकपमा ८ वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बन्नेछन्।

नर्वेका एर्लिङ हालान्ड पहिलो विश्वकपमा धूम मच्चाउँदै ७ गोल गरिसकेका छन्। उनको गोल गर्ने दर चारै स्टारहरूमध्ये उत्कृष्ट छ। कम अवसरमा धेरै गोल गरेका उनले प्रतियोगिताकै सबैभन्दा प्रभावकारी स्ट्राइकरका रूपमा आफूलाई स्थापित गरेका छन्। इंग्ल्यान्डका कप्तान ह्यारी केनले ६ गोल र १ असिस्ट गरेका छन्। सन् २०१८ को गोल्डेन बुट विजेता केन यसपटक पनि उपाधि दोहोर्याउने लक्ष्यमा छन्। अवसरलाई गोलमा बदल्ने उनी क्षमताका कारण अन्तिमसम्म प्रतिस्पर्धामा रहने अपेक्षा गरिएको छ।

गोल्डेन बुट को जित्ला? सेमिफाइनल र सम्भावित फाइनल अझै बाँकी भएकाले चारै खेलाडीले गोल संख्या बढाउन पर्याप्त अवसर पाउनेछन्। तर मेसी, हालान्ड र केनमध्ये केवल एउटै खेलाडी मात्रै फाइनलसम्म पुग्न सक्छन्। त्यसैले यी तीनमध्ये एक जनाको प्रतिस्पर्धा एमबाप्पेसँग हुनेछ। जसले निर्णायक खेलमा टोलीलाई जिताएर बढी गोल गर्नेछ, त्यही खेलाडी गोल्डेन बुट जित्ने सम्भावना सबैभन्दा बढी हुनेछ। एकातिर विश्वकप उपाधि जित्ने ठूलो सपना छ भने अर्कोतिर व्यक्तिगत रूपमा विश्वकै उत्कृष्ट गोलकर्ता बन्ने अवसर पनि छ। त्यसैले यसपटकको गोल्डेन बुटको दौड विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक र सम्झन योग्य प्रतिस्पर्धामध्ये एक बन्ने निश्चित छ।