२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अत्यन्तै प्रतिक्षित क्वार्टरफाइनल खेलमा युरोपेली शक्तिशाली टिम फ्रान्स र अफ्रिकी गौरव मोरक्को सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका छन्। दुवै टोली उत्कृष्ठ प्रदर्शनमा रहेको र खेलको परिणाम जुनसुकै बेला परिवर्तन हुने क्षमता भएका विश्वस्तरीय खेलाडीहरू मैदानमा छन्। फ्रान्स लगातार तेस्रोपटक फाइनल पुग्ने इतिहास बनाउन खोजिरहेको छ भने मोरक्कोले सन् २०२२ को कतार विश्वकपको सेमिफाइनलमा भोगेको हारको बदला लिँदै नयाँ कीर्तिमान स्थापना गर्ने प्रयास गर्दैछ। जहाँ प्रशिक्षकहरूको रणनीतिक कुशलतासँगै व्यक्तिगत भिडन्त र खेलको जादूले खेलको भाग्य निर्धारण गर्नेछ।
यसै सन्दर्भमा आजको ‘गर या मर’ महाभिडन्तमा दुवै टोलीका यी खेलाडीहरूको प्रदर्शन र हालको विश्वकप लय सबैभन्दा निर्णायक साबित हुन सक्छ:
फ्रान्स
किलियन एम्बाप्पे (स्ट्राइकर) : टोलीका कप्तान तथा विश्वकै सबैभन्दा खतरनाक स्ट्राइकर एम्बाप्पे फ्रान्सका प्रमुख गोलकर्ता हुन्। हालको विश्वकपमा उनको खेल प्रदर्शन उत्कृष्ट छ। सेनेगल र नर्वेदिरुद्ध गोल गरेका उनले पछिल्लो १६ में पछाडि पाराग्वेको बलियो डिफेन्सविरुद्ध पेनाल्टी मार्फत निर्णायक गोल गर्दै टोलीलाई क्वार्टरफाइनलमा पुर्याएका छन्। यो विश्वकपमा ७ गोल गरिसकेका एम्बाप्पे गोल्डेन बुटको दौडमा सामेल छन्।
माइकल ओलिसे (विङ्गर) : यस विश्वकपमा फ्रान्सेली मिडफिल्ड र आक्रमणको दाहिने विंगमा ओलिसे नायकका रूपमा उदाएका छन्। उनले समूह चरणमा इराक र नर्वेविरुद्ध गोल र असिस्ट गरिसकेका छन्। उनको सिर्जनात्मकता र चतुर पासहरूले मोरक्कोका लागि टाउको दुखाइ बन्नेछन्। यो विश्वकपमा सर्वाधिक ५ असिस्ट गर्ने ओलिसे प्लेमेकिङमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैछन्।
ब्राड्ली बार्कोला (फरवार्ड) : फ्रान्सको आक्रमण केवल एम्बाप्पे वा डेम्बेलेमा निर्भर छैन भन्ने कुरा बार्कोलाले देखाएका छन्। विशेष गरी ३२ मा स्वीडेनविरुद्ध ३–० को जित निकाल्दा बार्कोलाले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका थिए। उनको गति र ड्रिब्लिङ विपक्षी डिफेन्डरहरूका लागि घातक सावित भैरहेका छन्।
मोरक्को
एजेदिन उनाही (मिडफिल्डर) : कतार विश्वकप जस्तै इसपटक पनि उनाही मोरक्को मिडफिल्डको प्रेरणाका स्रोत बनेका छन्। उनको खेल उत्कृष्ट छ र उनकै लयका कारण मोरक्कोले अन्तिम १६ मा सह-आयोजक क्यानाडालाई ३–० ले पराजित गर्दा उनले दुई शानदार गोल गरेका थिए। फ्रान्सको मिडफिल्डलाई रोक्न उनको भूमिका सबैभन्दा महत्वपूर्ण रहनेछ।
सुफियान रहिमी (स्ट्राइकर) : मोरक्कोको आक्रमणलाई सम्हाल्ने प्रमुख गोलकर्ता रहिमी हुन्। समूह चरणमा हाइटीविरुद्ध गोल गरेका रहिमीले पछिल्लो खेलमा क्यानाडाविरुद्ध पनि अन्तिम समयमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए। बक्स भित्र उनको उपस्थिति फ्रान्सेली डिफेन्डरहरू (सालिबा र उपामेकानो) का लागि चुनौतीपूर्ण हुनेछ।
अचरफ हाकिमी (डिफेन्डर) : मोरक्कोको डिफेन्सको शक्ति र कप्तान हाकिमी टोलीका लागि महत्वपूर्ण कर्णधार हुन्। फ्रेन्च क्लब पीएसजीबाट फ्रान्सका विभिन्न खेलाडीहरूसँग खेलेका उनले फ्रेन्च फुटबलको राम्रो ज्ञान राख्छन्। एम्बाप्पेलाई रोक्ने मुख्य जिम्मेवारी हाकिमीको हुनेछ।






