मेटा कम्पनीले फेसबुक र इन्स्टाग्रामका विज्ञापनहरूमा समावेश हुने एआई उत्पादित सामग्रीका लागि नयाँ लेबल वा ट्यागको व्यवस्था गरेको छ। यो परिवर्तन कम्पनीले हालै आफ्नो एड डिस्क्लोजर सूचीमा गरेको सामान्य अपडेटहरूसँग मेल खाने गरी ल्याएको हो। अबदेखि एआई टुलहरू प्रयोग गरेर बनाइएका फेसबुक र इन्स्टाग्रामका विज्ञापनहरूमा ‘एबाउट दिस एड’ सेक्सनभित्र डिस्क्लोजर एलिमेन्ट समावेश गरिनेछ। प्रयोगकर्ताले कुनै पनि प्रमोटेड पोस्टको माथिल्लो पट्टि रहेको ‘थ्री-डट’ मेनूमा ट्याप गरेर यो विवरण हेर्न सक्नेछन्।
मेटाका अनुसार, एआई-जनित सामग्रीहरूको पारदर्शिता बढाउन कम्पनीले आफ्ना आफ्नै एआई टुलहरू साथै फोटोशप, ड्यालीजस्ता अन्य थर्ड-पार्टी जेनेरेटिभ एआई टुलहरूसँग बनाइएका वा सम्पादन गरिएका विज्ञापन सामग्रीहरूलाई स्वचालित रूपमा लेबल गर्नेछ। विज्ञापनदाताहरूले कुनै तस्वीर वा भिडियो निर्माण गर्न वा त्यसमा महत्वपूर्ण सम्पादन गर्न ब्याकग्राउण्ड जेनेरेसन, इमेज जेनेरेसन वा एड एनिमेसन जस्ता सुविधाहरू प्रयोग गर्दा, मेटाले यस्तो विज्ञापनमा स्वतः ‘एआई इन्फो’ लेबल लागू गर्नेछ।
त्यसैगरी, यदि कुनै विज्ञापन थर्ड-पार्टी जेनेरेटिभ एआई टुलबाट बनाइएको वा सम्पादन गरिएको पाइएमा पनि मेटाले ति विज्ञापनहरूमा यी लेबल थप्नेछ। बाह्य एआई टुलको प्रयोग पत्ता लगाउन मेटाले ‘सीटूपीए’ नामक प्रणालीको प्रयोग गर्ने पनि कम्पनीले स्पष्ट पारेको छ। जब प्रणालीले यस्ता मेटाडेटा पत्ता लगाउँछ, तब सामग्रीलाई त्यसअनुसार लेबल गरिन्छ।
समुदायको अपेक्षा र एआई प्रविधिको विकाससँगै विज्ञापनदाताहरू, नीति सरोकारवालाहरू र उद्योग साझेदारहरूसँग सहकार्य गर्दै एआई सामग्रीलाई लेबल गर्ने यस दृष्टिकोणलाई थप परिमार्जन गर्दै लैजाने कम्पनीले जनाएको छ। यस नयाँ अपडेटले मेटाले केही महिनाअघि आफ्ना इन-स्ट्रिम विज्ञापनहरूको लेबल ‘स्पन्सर्ड’ बाट ‘एड’ मा परिवर्तन गरेपछि आएको हो। यो व्यवस्थाले एआई सामग्रीका विषयमा थप स्पष्टता प्रदान गर्नेछ जसले विज्ञापनहरूमा हुने सम्भावित भ्रामक वा गलत प्रस्तुतिहरूलाई संकेत गर्न वा रोक्न सहयोग पुर्याउनेछ। मेटाले यसअघि नै सामान्य प्रयोगकर्ताहरूले पोस्ट गर्ने अर्गानिक सामग्रीका लागि एआई डिस्क्लोजर ट्यागको व्यवस्था गरिसकेको छ।






