Skip to main content

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, २८ जनाको मृत्यु

२६ असार, काठमाडौं । चीनको पूर्वी प्रान्त फुजियानमा बिहीबार एक जुत्ता कारखानामा लागेको आगोले कम्तीमा २८ जनाको ज्यान लिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । आगो निभाउन दर्जनौं दमकल र उद्धारकर्मीहरू खटिएका थिए । फुजियान प्रान्तको जिनजियाङ शहरमा रहेको हुइटेङ जुत्ता कारखानामा स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब १२ बजे आगो लागेको थियो । अधिकारीहरूले भवनभित्र अझै मानिसहरू फसेको आशङ्का गरेका छन्। राष्ट्रपति सी चिनफिङले आगलागीबाट ‘ठूलो मानवीय क्षति’ भएको र घटनामा जिम्मेवारलाई कानुनी दायरामा ल्याइने बताएका छन्। चीनको सिन्ह्वा न्यूज एजेन्सीले दिएको पछिल्लो जानकारीमा साँझसम्म २८ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

राष्ट्रिय टेलिभिजन सीसीटीभीले प्रसारित फुटेजमा भवनबाट ठूलो कालो धुवाँ निस्किरहेको र दमकलकर्मीहरूले भवनको बाहिरी भाग र भित्री भागमा पानीको फोहोराले आगो निभाइरहेको देखिन्छ। आगो तल्लो तलाहरूमा फैलिएका मानिसहरू भवनको झ्याल नजिक र छतमा आश्रय लिइरहेको देखिन्थ्यो। विपत् व्यवस्थापन मन्त्रालयले विज्ञप्तिमा १८३ जना उद्धारकर्मी र ३५ वटा सवारी साधन घटनास्थलमा खटाएको जनाएको छ। सिन्ह्वाका अनुसार खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिइएको छ।

सिनजियाङका दमकल प्रमुख डु झेन्झाउले दिएको जानकारीमा जुत्ताका सामग्रीले भरिएका भर्याङ र निस्कने बाटो अवरुद्ध भएकाले उद्धार टोली भवनको माथिल्लो तलासम्म पुग्न सङ्घर्ष गर्नुपरेको थियो। उनले कारखानामा जुत्ता उत्पादनमा प्रयोग हुने टाँस्ने पदार्थ (अडेसिभ) र कच्चा पदार्थहरूले आगो सल्काउन थप मद्दत गरेको बताए। सीसीटीभीको लाइभ फुटेजमा जलेर कालो भएको भवनबाट बिग्रिएका झ्यालहरूबाट बाक्लो खरानी रङको धुवाँ निस्किरहेको देखिन्थ्यो। बिहीबार साँझतिर आपतकालीन व्यवस्थापन मन्त्रालयले आगो नियन्त्रणमा आएको बताएको छ। यसका साथै फसेका बाँचेकाहरूको खोजी, घाइतेको उपचार र आगो पूर्ण रूपमा निभाउन ‘पूर्ण प्रयास’ गर्न निर्देशन दिएको छ। सिन्ह्वाका अनुसार केही मानिसहरू फसेका र ‘सम्पर्कविहीन’ रहेका छन्। ‘यो वर्ष चीनमा ‘धेरै ठूला औद्योगिक सुरक्षा दुर्घटना’ भएका छन्, यसबाट सबै क्षेत्र र सम्बन्धित विभागहरूले गम्भीर पाठ सिक्नुपर्छ’, राष्ट्रपति सीले आगलागीबारे जानकारी पाएपछि अधिकारीहरूलाई निर्देशन दिँदै भने।