Skip to main content

इजरायलमा होम बेस्ड केयरगिभर पठाउने प्रोटोकल चाँडै टुंगिने तयारी

नेपाल र इजरायल सरकारबीच कृषिमा र घरमा आधारित सहायक कामदार (केयरगिभर) पठाउने श्रम प्रोटोकललाई अन्तिम चरणमा पुर्याउने छलफल भइरहेको छ। श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले प्राविधिक विषयहरू मिलाएर यथाशीघ्र औपचारिक हस्ताक्षर गर्ने गरी वार्ता अगाडि बढेको जानकारी दिए। इजरायलले कामदारको संख्या वार्षिक कोटाका आधारमा निर्धारण गर्ने जनाएको छ र रोजगारीको अवधि सामान्यतया पाँच वर्षको हुनेछ। २६ असार, काठमाडौं।

इजरायलमा ‘होम बेस्ड केयरगिभर’ पठाउने प्रोटोकल चाँडै टुंगिने तयारी भइरहेको छ। इजरायल र नेपाल सरकारबीच व्यक्तिको घरमा काम गर्ने केयरगिभर र कृषिक्षेत्रमा काम गर्ने श्रमिक पठाउने गरी तयार पारिएको प्रोटोकललाई अन्तिम रूप दिने विषयमा छलफल जारी छ। नेपालको तर्फबाट गत वर्ष नै प्रोटोकलको मस्यौदा तयार गरी मन्त्रिपरिषद्ले पारित गरिसकेको छ। २२ पुस २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकले कृषिका नेपाली विद्यार्थीलाई कृषि क्षेत्र र घरमा आधारित सहायक श्रमिक (केयरगिभर) लाई पाँच वर्षको दीर्घकालीन रोजगारी दिने उद्देश्यले इजरायलले पठाएको थप दुई नयाँ प्रोटोकलको मस्यौदा पारित गरेको थियो।

इजरायल र नेपालबीच भएको श्रम सम्झौताअन्तर्गत ती प्रोटोकल पारित भएका थिए। इजरायलसँग दीर्घकालीन सेवा केन्द्रमा सहायक श्रमिक (केयरगिभर) पठाउने मात्रै प्रोटोकल छ। यसलाई पनि परिमार्जन गरेर मस्यौदा पठाइएको थियो। इजरायलले तीन वटा प्रोटोकलको मस्यौदा पठाएको थियो। आवश्यक संशोधन गर्दै मन्त्रिपरिषद्ले पारित गरेको थियो। सोही अनुसार युवा, श्रम तथा रोजगार मन्त्रालयले प्रोटोकलसँग सम्बन्धित सम्झौताका लागि प्रक्रिया अगाडि बढाएको थियो।

गत बुधबार श्रममन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिकम एरी बासबीच भेटवार्ता भएको थियो। भेटका क्रममा उक्त प्रोटोकललाई यथाशीघ्र पारित गर्ने विषयमा छलफल भएको थियो। दुवै पक्षले मन्त्रालयबाट यो प्रक्रिया यथाशीघ्र सम्पन्न हुने लक्ष्य राखेको छ। विशेषगरी होम बेस्ड केयरगिभरको सन्दर्भमा इजरायलले केही बुँदामा परिमार्जनसहित प्रस्ताव पठाएको छ। प्रवक्ता घिमिरेका अनुसार प्राविधिक टोलीले यसलाई अन्तिम रूप दिएपछि दुई देशबीच औपचारिक हस्ताक्षर हुनेछ।

कृषि र घरमा आधारित सहायक कामदार सम्बन्धी विषयमा इजरायलले वार्षिक कोटा तोकेर पठाउने तयारी गरेको छ। तर, अहिलेसम्म त्यो स्पष्ट नभएको प्रवक्ता घिमिरेले बताए। ‘कामदारको संख्या इजरायलले वार्षिक कोटाका आधारमा निर्धारण गर्छ, जुन प्रोटोकल स्वीकृत भएपछि मात्र थाहा हुन्छ,’ उनले भने। इजरायलमा काम गर्ने अवधि सामान्यतया पाँच वर्ष हुनेछ। पाँच वर्षको अवधि पूरा गरेपछि कामदारलाई अनिवार्य रूपमा स्वदेश फर्कनुपर्ने प्रावधान छ।

सरकारले इजरायलको श्रम बजारलाई नेपालीका लागि सुरक्षित र व्यवस्थित बनाउन यो प्रोटोकललाई बढी प्राथमिकता दिएको छ। सम्झौताले केयरगिभर क्षेत्रमा नेपाली श्रमिकका लागि रोजगारीका नयाँ अवसरहरू खोल्ने अपेक्षा गरिएको छ।

सरकारी संयन्त्रबाट नेपाली श्रमिक (केयरगिभर) इजरायल पठाउन १४ असोज २०७७ (३० सेप्टेम्बर २०२०) मा ‘इजरायलको विशेष श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ भएको थियो। उक्त सम्झौतापछि पाँच वर्षमा नवीकरण प्रक्रिया अगाडि बढेको हो।

२०७७ को सम्झौतामा स्वतः नवीकरण गरिने प्रावधान नराखिएपछि नवीकरण प्रक्रिया सुरू गरिएको थियो। उक्त सम्झौतासँगै थप कृषि र घरमा आधारित श्रमिक पठाउने सम्झौतासमेत तयार गरिएको थियो।

अहिलेसम्म दुई चरणमा गरी ३ हजारभन्दा बढी केयरगिभर इजरायल पुगेका छन्।