Skip to main content

मोबाइल वा एपमार्फत बैंक खाता बन्द गर्ने व्यवस्था शुरु

नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकहरूलाई मोबाइल वा वेब एप्लिकेसनमार्फत आफ्ना बैंक खाता बन्द गर्ने व्यवस्था सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। यस नयाँ निर्देशन अनुरूप, अब ग्राहकले खाता बन्द गर्नका लागि बैंक शाखा कार्यालय जानुपर्ने बाध्यता रहेन। बैंक तथा वित्तीय संस्थाहरूले निष्क्रिय खाताहरूमा हुने अस्वाभाविक कारोबारको निगरानी व्यवस्था गर्नुपर्ने छ र वित्तीय अपराध विरुद्ध जनचेतना अभिवृद्धिका लागि सामग्रीहरू प्रसारण गर्नुपर्नेछ।

२६ असार, काठमाडौं। अबदेखि ग्राहकहरूले आफ्नो खाता बन्द गर्न बैंकको कार्यालय धाउन नपर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता कम गर्ने योजनाअन्तर्गत मोबाइल वा एपमार्फत खाता बन्द गर्ने व्यवस्था ल्याएको हो। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निष्क्रिय खाता घटाउने विस्तृत कार्ययोजना बनाउन र आगामी पुससम्म कार्यान्वयन गर्न निर्देशन दिएको छ।

केन्द्रीय बैंकले भनेको छ कि बैंक तथा वित्तीय संस्थामा रहेका सक्रिय खाताहरू निष्क्रिय हुनु पूर्व ग्राहकलाई कल, एसएमएस र इमेलमार्फत नियमित सूचना दिन अनिवार्य छ। निष्क्रिय खाता पुनः सक्रिय गराउने क्रममा कम्तीमा ६ महिनाको अन्तरालमा ग्राहकलाई अनुरोध गर्ने व्यवस्था समेत गरिएको छ। ग्राहकले बैंकमा पुगेर वा मोबाइल/एपमार्फत खाता बन्द गर्ने अनुरोध गर्दा खातामा रहेका रकम सो ग्राहकले तोकेको अन्य बैंक वा वित्तीय संस्थामा हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ।