भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गाङ्गुली अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को ‘हल अफ फेम’मा समावेश भएका छन्। गाङ्गुलीले भने, “‘आईसीसी हल अफ फेममा समावेश हुन पाउँदा सम्मानित महसुस गरेको छु।” १६ वर्ष लामो खेल जीवनमा उनले १८ हजार ५ सय ७५ रन बनाउँदै भारतीय क्रिकेटमा आक्रामक नेतृत्व प्रदान गरेका थिए। २७ असार, काठमाडौं।
गाङ्गुली विश्व क्रिकेटका महान खेलाडीहरूको सूचीमा समावेश हुँदै यो सम्मान प्राप्त गरेका हुन्। उनले भने, “क्रिकेटका महान खेलाडीहरूसँग मेरो नाम जोडिनु मेरो जीवनकै सबैभन्दा विशिष्ट क्षणहरूमध्ये एक हो।” गाङ्गुलीले टेस्ट र एकदिवसीय क्रिकेटमा ३८ शतक प्रहार गरेका छन्। सन् १९९६ मा लर्ड्समा इंग्ल्यान्डविरुद्ध टेस्ट क्रिकेटमा पदार्पण गर्दै उनले पहिलो खेलमै शतक बनाएका थिए।
एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरसँग मिलेर उनले विश्व क्रिकेटकै उत्कृष्ट सुरुवाती जोडीमध्ये एक निर्माण गरेका थिए। सन् २००० मा भारतीय टोलीको कप्तानी सम्हालेपछि गाङ्गुलीले टोलीमा आक्रामक सोच र आत्मविश्वास भरेका थिए। उनको नेतृत्वमा भारत सन् २००३ को एकदिवसीय विश्वकपको फाइनलसम्म पुगेको थियो। उनले युवा खेलाडीहरूलाई अवसर दिँदै भारतीय क्रिकेटको नयाँ पुस्ता निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका गाङ्गुलीलाई भारतीय क्रिकेटका उत्कृष्ट कप्तान र ब्याट्सम्यानहरूमध्ये एक मानिन्छ।






