चेक गणराज्यकी लिन्डा नोस्कोभाले कारोलिना मुचोभालाई पराजित गर्दै पहिलो पटक विम्बल्डन महिला एकल उपाधि जितेकी छिन्। नोस्कोभाले ६–२, ५–७ र ६–३ को सेटमा विजय हासिल गरी आफ्नो खेल जीवनको पहिलो ग्राण्डस्लाम उपाधि हात पारिन्। विम्बल्डनको इतिहासमा दुई चेक खेलाडीबीच भएको यो पहिलो महिला एकल फाइनल हो।
२१ वर्षीया नोस्कोभाले मुचोभालाई ६–२, ५–७ र ६–३ को सेटमा हराउँदै आफ्नो पहिलो ग्राण्डस्लाम उपाधि जितिन्। उनले पहिलो सेट ६–२ ले सजिलै जितिन् र दोस्रो सेटमा ५–२ को अग्रता लिएर सहज विजयी तर्फ उन्मुख थिइन्। तर, पाँच पटक च्याम्पियनसिप पोइन्टको मौका पाएको बाबजुद पनि त्यो सम्भव भएन।
१०औं वरीयताकी मुचोभाले लगातार पाँच खेल जित्दै दोस्रो सेट ७–५ को अंकले आफ्नो पक्षमा पारिन् र निर्णायक सेटसम्म खेललाई लगेकी थिइन्। दोस्रो सेटमा पछि परेको नोस्कोभाले निर्णायक सेटमा आफूलाई बलियो बनाएर खेलाइन्। उनले तेस्रो सेट ६–३ लगाउँदै ऐतिहासिक उपाधि सुनिश्चित गरिन्।
“यो अविश्वसनीय महसुस भइरहेको छ। शारीरिक र मानसिक दुवै हिसाबले अत्यन्त चुनौतीपूर्ण खेल भयो। अन्तिम पोइन्ट जित्न कहिल्यै सजिलो हुँदैन,” नोस्कोभाले जितपछि भनिन्। उपाधि जितेका कारण उनी भावुक बनेकी थिइन्। उनले दुई वर्षअघि विम्बल्डन सुरु हुनुभन्दा एक दिनअगाडि निधन भएकी आफ्नी आमा इभानालाई सम्झिइन्। “म अझै एक व्यक्तिलाई धन्यवाद दिन चाहन्छु। म मेरी आमालाई धन्यवाद दिन चाहन्छु। उहाँ बिना म आज यहाँ हुने थिइनँ,” उनले थपिन्।






