दक्षिण अफ्रिका र मामेलोडी सनडाउन्सका मध्यफरवार जेडन एडम्सको २५ वर्षको उमेरमा असामयिक निधन भएको छ। दक्षिण अफ्रिकी प्रहरीले केपटाउनस्थित एक घरमा शनिबार बिहान उनको शव फेला पार्दै अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। खेल, कला र संस्कृति मन्त्री ग्याटन म्याकेन्जीले जेडनको निधनबाट देशले एक प्रतिभाशाली युवा खेलाडी गुमाएको बताएका छन्।
जेडन एडम्सको निधन वर्ल्ड कप खेलिसकेका केही हप्तापछि भएको हो। दक्षिण अफ्रिकी प्रहरीले शनिबार बिहान सेन्ट्रल केपटाउनको सटसेक्लुफ क्षेत्रको एक घरमा उनको शव फेला पारेको छ। यस घटनाबारे अनुसन्धान सुरु गरिएको छ। जेडन एडम्सले वर्ल्ड कपमा दक्षिण अफ्रिकाको ग्रुप चरणका तीनवटै खेल खेलेका थिए। उनको टिम नकआउट चरणसम्म पुगेको थियो, तर राउन्ड अफ ३२ मा क्यानडासँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो।
दक्षिण अफ्रिकाका खेल, कला र संस्कृति मन्त्री ग्याटन म्याकेन्जीले एक बयान जारी गर्दै जेडन एडम्सको निधनको जानकारी दिएका छन्। उनले दक्षिण अफ्रिकी फुटबलले आफ्नो सबैभन्दा प्रतिभाशाली युवा खेलाडी गुमाएको बताएका छन्। उनले पूरा देश एडम्सको परिवार, टिमका साथीहरू र समर्थकहरूको दुःखमा सहभागी रहेको बताए। म्याकेन्जीले जेडनको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको बताएका छन् र मिडिया तथा आम जनता लाई संयमित रहन तथा अफवाहहरूमा नपर्न अनुरोध गरेका छन्।
दक्षिण अफ्रिकी फुटबल प्लेयर युनियनले एडम्सको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ। एडम्सले सन् २०२२ मा दक्षिण अफ्रिकाका लागि आफ्नो पहिलो खेल खेलेका थिए। युनियनले जेडनले हालै २०२६ वर्ल्ड कपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेको पनि बताएका छन्। उनको निधन परिवार, टिम साथीहरू, क्लबहरू, फुटबल संसार र पुरै देशका लागि ठूलो क्षति भएको युनियनले उल्लेख गरेको छ।






