हाल शहर बजारमात्र होइन दुख्खम गाउँका टाढा-टाढा भएका क्षेत्रमा समेत खाना पकाउन एलपीजी ग्यास उपलब्ध छ। यसले हाम्रो भान्सा प्रयोगलाई सजिलो बनाउन मद्दत पुर्याएको छ, तर यसको सही प्रयोग नहुँदा कहिलेकाहीं विभिन्न समस्या उत्पन्न हुनसक्छ। ग्यास सिलिण्डर विस्फोट हुने दुर्घटनाका धेरै उदाहरणहरू पनि देखिएका छन्। त्यसैले ग्यास सिलिण्डरलाई उचित र सुरक्षित तरिकाले राख्नु अत्यन्त आवश्यक हुन्छ।
सिलिण्डरलाई सुताएर नराख्नु पर्दछ, सदैव सिधा उभ्याएर राख्नुपर्छ। सुताएर राख्दा रेगुलेटर र भल्भहरूमा असर पुग्न सक्छ, जसले ग्यास चुहावटको खतरा बढाउँछ। तातो स्थानमा राख्न हुँदैन र सिलिण्डरलाई प्रत्यक्ष घाम लागेको स्थान, ग्यास चुल्होको नजिक वा हिटरको तातो ठाउँमा नराख्नुपर्छ। अत्याधिक तापले सिलिण्डर विस्फोट हुन सक्ने जोखिम हुन्छ।
ग्यास सिलिण्डर हावा नफर्किने स्थानमा नराख्नुपर्छ। राम्रो हावा आवागमन हुने खुला ठाउँमा मात्र राख्नु राम्रो हुन्छ। कम हावा चल्ने वा बन्द ठाउँमा राख्दा जोखिम बढ्छ। सिलिण्डर जमिनको सतहभन्दा तल जहां ग्यास भारी भएर जम्मा हुन सक्छ त्यस्तो ठाउँमा नराख्नुपर्छ, जस्तै बेसमेन्ट अथवा जमिनमुनिको भाग।
सिलिण्डरलाई बलियो सतहमा सिधा ठड्याएर राख्नुपर्छ र खुला ठाउँमा राख्दा राम्रो हुन्छ। रेगुलेटर राम्रोसँग जडान गरिएको हुन्छ भन्ने सुनिश्चित गर्नुपर्छ र पाइप झुकेको वा टुटेको नभएको जाँच गर्नुपर्छ। ग्यास पाइप पनि सिलिण्डर जस्तै नियमित जाँच गर्नु अनिवार्य छ। पाइपमा चाँडो बिग्रिने संकेत वा ग्यास चुहावटको शंका देखिए सावधानी पूर्वक परीक्षण गर्नुपर्छ। सदैव गुणस्तरीय रेगुलेटर र पाइप प्रयोग गर्नुपर्छ। कहिलेकाहीं रेगुलेटर जडान गरिने ठाउँमा समस्या आउन सक्छ, त्यसको पनि ध्यान दिनुपर्छ।






