नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ। गत वर्षको जेठसँग तुलना गर्दा यस वर्ष मँहगी लगभग दुई गुणा वृद्धि भएको छ। कोशी प्रदेशमा सबैभन्दा धेरै ५.७५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.६१ प्रतिशत मुद्रास्फीति देखिएको छ। २९ असार, काठमाडौं।
गत वर्षको तुलनामा यस वर्ष जेठ महिनामा मँहगी लगभग दुई गुणा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ। गत वर्ष सोही महिनामा मुद्रास्फीति २.७२ प्रतिशत मात्र थियो। यद्यपि, आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशतमा सीमित रहेको छ।
समीक्षा गरिएको महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैरखाद्य तथा सेवा समूहको मँहगी बढी देखिएको छ। राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत पुगेको छ। गत वर्ष यी समूहहरूको मुद्रास्फीति क्रमशः ०.५४ र ३.९४ प्रतिशत मात्र थियो।
भान्सा सामग्री र यातायातमा उच्च मूल्य वृद्धिदेखियो। जेठ महिनामा उपभोक्ताको भान्सामा प्रयोग हुने फलफूल र घिउ-तेलको मूल्यमा ठूलो वृद्धि भएको छ। तथ्यांकअनुसार फलफूल उपसमूहको मूल्य १७.४० प्रतिशत र घिउ तथा तेलको मूल्य १५.१० प्रतिशतले बढेको छ। गैरखाद्य सामाग्रीमा विभिन्न वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशत र यातायातमा १५.३१ प्रतिशतले वृद्धि भएको छ।






