Skip to main content

शोधनान्तर स्थिति ९ खर्ब २६ अर्बले बचतमा, गत वर्षभन्दा दोब्बर

नेपालको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ११ महिनामा ९ खर्ब २६ अर्ब ६ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर बचत झण्डै दोब्बरले वृद्धि भएको छ। रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण मुलुकको बाह्य क्षेत्र कारोबारमा सकारात्मक प्रभाव परेको छ। २९ असार, काठमाडौं।

मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचत गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा दोब्बर बढेको छ। चालु आव २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्म शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोडले बचतमा छ। अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा थियो। अमेरिकी डलरमा ६ अर्ब ३९ करोडले बचतमा छ।

शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ। नेपालका हकमा रेमिट्यान्स आप्रवाह उल्लेख्य हुँदा त्यसको सकारात्मक प्रभाव शोधनान्तर स्थितिमा पर्छ। केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ८ खर्ब २ अर्ब ६ करोडले बचतमा छ। अघिल्लो आव चालु खाता ३ खर्ब २१ अर्ब ७४ करोडले बचतमा थियो। यस अवधिमा खुद ट्रान्स्फर १७ अर्ब ३ करोड छ। चालु आव प्रत्यक्ष वैदेशिक लगानी २२ अर्ब ८२ करोड भित्रिएको छ।