चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा विस्तार ६.२ प्रतिशत मात्र भएको राष्ट्र बैंकले जनाएको छ। जेठ मसान्तसम्म कुल कर्जा प्रवाह ५८ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकहरूको ब्याजदर र आधारदरमा उल्लेखनीय कमी आएको छ।
निक्षेप संकलन १०.३ प्रतिशतले वृद्धि भई ८० खर्ब १२ अर्ब रुपैयाँ पुगेपछि तरलता व्यवस्थापनमा बैंक र वित्तीय संस्थाहरूलाई थप चुनौतीहरू थपिएका छन्।
२९ असार, काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा बैंक र वित्तीय संस्थाबाट कर्जा विस्तार केवल ६.२ प्रतिशत मात्र भएको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले देखाएको छ। साउनदेखि जेठ मसान्तसम्म ३ खर्ब ४० अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ।
गत वर्षको तुलनामा कर्जा विस्तारको दर सुस्त परेको हो, जहाँ गत आर्थिक वर्षकै यसै अवधिमा कर्जा विस्तार ८ प्रतिशत थियो।
जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कुल ५८ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि कर्जा विस्तारमा सुस्ती देखिएको छ।
ब्याजदर निरन्तर ओरालो लागिरहेको छ। वाणिज्य बैंकहरूको औसत आधारदर यस जेठमा ४.८८ प्रतिशतमा झरेको छ, जुन गत वर्षको जेठमा ६.०९ प्रतिशत थियो। सोही अवधिमा विकास बैंकको औसत आधारदर ८.२९ प्रतिशतबाट ६.८६ प्रतिशत र फाइनान्स कम्पनीहरूको ९.०२ प्रतिशतबाट ७.१६ प्रतिशतमा झरेको छ।
त्यसैगरी कर्जाको भारित औसत ब्याजदर पनि उल्लेखनीय रूपमा घटेको छ। वाणिज्य बैंकहरूको भारित औसत ब्याजदर ७.९९ प्रतिशतबाट ६.६४ प्रतिशत, विकास बैंकहरूको ९.४० प्रतिशतबाट ७.७१ प्रतिशत र फाइनान्स कम्पनीहरूको १०.२२ प्रतिशतबाट ८.९० प्रतिशतमा झरेको छ।
निक्षेप संकलनमा पनि यस ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप करीब १०.३ प्रतिशतले वृद्धि भएको छ। निक्षेप ७ खर्ब ४८ अर्ब रुपैयाँले बढेर जेठ मसान्तसम्म कुल निक्षेप ८० खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ।
गत वर्षको तुलनामा निक्षेप रकममा वृद्धि भएको छ, जहाँ गत आर्थिक वर्षको यसै अवधिमा निक्षेप मात्र ८ प्रतिशतले बढेको थियो। कर्जाभन्दा निक्षेप वृद्धि बढी भएका कारण तरलता व्यवस्थापनमा थप चुनौतीहरु देखिएका छन्।






