Skip to main content

नेपाली पौडी टोली थाइल्यान्डतर्फ प्रस्थान

एसियाली उमेर समूह पौडी च्याम्पियनसिपमा सहभागिता जनाउन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधबार बैंकक प्रस्थान गर्दैछ। जुलाई १७ देखि २५ सम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपाली खेलाडीहरूले १०८ विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्, जसको जानकारी नेपाल पौडी संघका सचिव गंगालाल गोलेले दिएका छन्।

मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतका पदाधिकारीहरूले टोलीलाई बिदाइ गरेका थिए। नेपाली टोलीमा ६ पुरुष र १० महिला खेलाडी रहेका छन्। पुरुष खेलाडीहरूमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी र रेवन्तबहादुर श्रेष्ठ छन्। महिला खेलाडीहरूमा आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले सामेल छन्।

टोली प्रमुख राजु महर्जन रहेका छन् भने प्रमुख प्रशिक्षकको रुपमा सुदीप राजभण्डारी र प्रशिक्षक सुमन महर्जन छन्। टोलीलाई मंगलबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बिदाइ गरेका थिए।