Skip to main content

नेपाल र अमेरिका बीचको आर्थिक सम्बन्धलाई सुदृढ पार्न बिजनेस समिट आयोजना हुँदै

ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले सेप्टेम्बर २५ देखि २७ सम्म न्यूयोर्कमा नेपाली अमेरिकी व्यवसाय र लगानी समिट आयोजना गर्न लागेको छ। अध्यक्ष प्रदिप श्रेष्ठले यो सम्मेलन नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियान रहेको बताउनुभयो। तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालका विभिन्न क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र प्रविधि तथा अनुभव साटासाट गर्ने लक्ष्य राखिएको छ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेस्टमेन्ट समिट (एनएबीआईएस) आयोजना गर्न लागेको छ। सेप्टेम्बर २५ देखि २७ सम्म न्यूयोर्कको जेएफके मेरियट होटलमा आयोजना हुने तीन दिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन “पूँजी, विचार र अवसरलाई जोड्ने” भन्ने नाराका साथ सञ्चालन हुने जानकारी आयोजकले दिएका छन्।

समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीतिनिर्माता तथा विश्वभर रहेका नेपाली डायस्पोराको सहभागिता रहने बताइएको छ। सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी बनाउने लक्ष्य राखिएको छ। समिटको औपचारिक घोषणा कार्यक्रममा बोल्दै, अध्यक्ष प्रदिप श्रेष्ठले एनएबीआईएस केवल साधारण सम्मेलन नभइ नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने साझा अभियान भएको बताए।

उहाँले नेपाल पर्यटन, जलविद्युत, सूचना प्रविधि, आधुनिक कृषि, पूर्वाधार विकास, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रहरूमा ठूलो सम्भावना भएको देश भएको उल्लेख गर्नुभयो। अमेरिकामा रहेका नेपाली मूलका सफल व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ र विभिन्न क्षेत्रका नेताहरूको ज्ञान, अनुभव र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको बताए। सम्मेलनले व्यवसायीहरूबीच नेटवर्क विस्तार गर्ने, अनुभव साटासाट गर्ने र रणनीतिक साझेदारी निर्माण गर्ने अवसर प्रदान गर्ने छ। आयोजकका अनुसार स्टार्टअप र उद्यमीहरूले आफ्नो व्यवसाय प्रस्तुत गर्न आवेदन दिन सक्ने छन्।