होर्मुज जलमार्ग: ट्रम्पले २०% शुल्कको धम्की फिर्ता लिए, समुद्री नाकाबन्दी भने कायम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा सञ्चालन हुने कार्गो पानीजहाजहरूलाई २०% शुल्क लगाउने आफ्नो धम्की फिर्ता लिएका छन्। यस जलमार्गको नियन्त्रणको लागि अमेरिकाले इरानविरुद्ध जारी आक्रमणलाई निरन्तरता दिइरहेको छ। दुबै तर्फबाट जारी आक्रमण र प्रत्याक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ भने जलमार्गमार्फत सञ्चालन भइरहेका ट्याङ्कर जहाजहरूको आवतजावत लगभग ठप्प भएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले मंगलबार राति आफ्नो फौजले “व्यापारिक जहाजहरूमा आक्रमण गर्नसक्ने इरानी क्षमताहरूलाई ध्वस्त पार्ने ताजा चरणका प्रहारहरू गरेको” जनाएको छ। यसअघि पनि सेन्ट्रल कमाण्डले लगातार तेस्रो रात आक्रमणको जानकारी दिएको थियो। इरानी सरकारी सञ्चार माध्यमहरूले ती आक्रमण विभिन्न शहरहरूमा भएको र तीमध्ये इरानको परमाणु उर्जा केन्द्र रहेको बुशेहर शहर पनि रहेको बताएका छन्।
सोमबार ट्रम्पले अमेरिकाले होर्मुज जलमार्गको सुरक्षा गर्दै आएको उल्लेख गर्दै यसमा सञ्चालित सबै कार्गो जहाजहरूबाट २०% शुल्क लिने घोषणा गरेका थिए। उनले इरानविरुद्ध समुद्री नाकाबन्दी लगाउने चेतावनीसमेत दिएका थिए। तर पछि ट्रम्पले भनाइ फेरि, “२०% शुल्कलाई मैले खाडी क्षेत्रका विभिन्न देशहरूले अमेरिकासँग गर्ने व्यापार तथा लगानी सम्झौताले प्रतिस्थापन गर्ने निर्णय गरेको छु।” इरानले होर्मुज जलमार्ग आफ्नो नियन्त्रणमा रहेको दोहोर्याएको छ।






