नेपाली महिला यू-१९ क्रिकेट टोलीले एसीसी यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गर्दै एसिया कपका लागि छनोट पक्का गरेको छ। क्वाटरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै नेपालले सहज जित हासिल गर्यो। अब सेमिफाइनलमा नेपालले शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ।
३१ असार, काठमाडौं। नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू-१९ महिला प्रिमियर कप क्वाटरफाइनलमा जापानलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ र यससँगै एसिया कपमा छनोट सुनिश्चित गरिएको छ। जापानले दिएको ८७ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। साबित्री धामी ४१ रन अविजित रहँदा कप्तान सोनी पाख्रिन र सना प्रवीणले समान १८-१८ रन बनाए।
जापानले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाएर मात्र ८६ रन बनायो। कप्तान बियान्का शिनो ३८ रनमा अविजित रहिन्। अयाने साकुराबा र किचो सुजुकीले समान १० रन बनाए। नेपालका रिया शर्मा र कृश्मा गुरुङले २-२ विकेट लिए भने अनु कडायत, मनिषा उपाध्याय र सोनी पाख्रिनले १-१ विकेट लिए। अब नेपाल सेमिफाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल खेल पर्सि शुक्रबार हुनेछ।






