Skip to main content

सरकारले अन्तर्राष्ट्रिय पदक विजेतालाई १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँको नगद पुरस्कार दिने निर्णय

सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने १०१ खेलाडी र पदाधिकारीलाई १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँको नगद पुरस्कार दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार पदक विजेता खेलाडी, प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई सम्मान गर्ने निर्णय गरेको हो। खेलकुद मन्त्रालयका अनुसार बजेट अभावका कारण रोकिएको पुरस्कार रकम अब सम्बन्धित विजेताहरूलाई प्रदान गरिनेछ।

सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय लिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले खेलाडीहरूको सम्मान र प्रोत्साहनका लागि नगद पुरस्कारसहित सम्मान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो। यस प्रस्तावको आधारमा सरकारले पदक हासिल गरेका खेलाडी तथा टोलीलाई सम्मान गर्न लागेको हो।

राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२) अनुसार खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितको टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यसअघि बजेट अभावका कारण खेलाडीहरूले पाउनुपर्ने पुरस्कार प्राप्त गर्न सकेका थिएनन्।

खेलकुद मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता १०१ जनालाई नगद पुरस्कारसहित सम्मान गरिनेछ। यसमा माल्दिभ्समा सम्पन्न १५औं विश्व बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२४ का पदक विजेता चार खेलाडी, भारतमा भएको प्रथम खो–खो विश्वकप–२०२५ का रजत पदक विजेता महिला टोलीका १८ र पुरुष टोलीका १८ खेलाडी समावेश छन्। यस्तै, युडब्लु एसियन बेल्ट रेस्लिङ–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, मलेसियामा १०औं एसियाली पारा तेक्वान्दो प्रतियोगिता–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, र अन्य विभिन्न प्रतियोगिताका पदक विजेताहरूलाई पनि पुरस्कार प्रदान गरिनेछ।