Skip to main content

बिजुलीको मूल्यमा ५ देखि १३ प्रतिशतसम्म वृद्धि

शुक्रबारदेखि लागू हुने गरी सरकारले घरायसी प्रयोजनका ५० युनिटभन्दा बढी बिजुली उपभोग गर्ने ग्राहकलाई ५ प्रतिशत र अन्य उपभोक्तालाई १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेको छ। आन्तरिक राजस्व विभागले व्यावसायिक, औद्योगिक, सार्वजनिक निकाय तथा संस्थागत क्षेत्रका ग्राहकलाई अन्तिम उपभोक्ता नमान्ने गरी कार्यविधिमार्फत व्याख्या गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीको मूल्य नबढ्ने घोषणा गरे पनि विद्युत् नियमन आयोग रिक्त हुँदा महसुल समायोजनको प्रक्रिया अघि बढ्न सकेको छैन। ३१ असार, काठमाडौं।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) शुक्रबारदेखि लागू हुने जानकारी दिएका छन्। नयाँ आर्थिक वर्षदेखि बिजुली तथा राइड सेयरिङमा भ्याट लाग्न सुरु हुने र त्यसको प्रारम्भिक तयारी सम्पन्न भएको आन्तरिक राजस्व विभागका निर्देशक प्रकाश पौडेलले बताए। आर्थिक विधेयकमा विद्युत्‌का अन्तिम उपभोक्तालाई ५ प्रतिशत दरले भ्याट लाग्ने व्यवस्था छ। आन्तरिक राजस्व विभागले घरायसी ग्राहकलाई अन्तिम उपभोक्ता मानेको र उनीहरूलाई मात्रै ५ प्रतिशत भ्याट लाग्ने बताएको छ।

आर्थिक ऐनमा भएको व्यवस्थाअनुसार कार्यविधि बनाएर विभागले अन्तिम उपभोक्ता भनेको के हो भन्ने परिभाषित गरेको छ। ‘जसले प्रयोग गरेको विद्युत् व्यावसायिक र औद्योगिक काममा प्रयोग हुँदैन, अर्थात् घरायसी काममा मात्रै प्रयोग हुन्छ, त्यसलाई अन्तिम उपभोक्ता मान्ने गरी व्याख्या गरिएको छ,’ पौडेलले भने। राइड सेयरिङका सन्दर्भमा पनि कम्पनीहरूले त्यसैगरी बिलिङ प्रणाली विकास गरेको उनले जनाए। १ साउनदेखि ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकलाई ५ प्रतिशत र अन्यलाई १३ प्रतिशत भ्याट थपेर बिलिङ गरिने नेपाल विद्युत् प्राधिकरणका वित्त विभाग निर्देशक गणेश लुइँटेलले बताए।