मान्छेको ज्यान लिएको जङ्गली हात्ती ‘धुर्बे’को दाह्रा काटिएको छ। १० दिनको खोजी र निगरानीपछि गत रात चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले जङ्गली हात्ती ‘धुर्बे’लाई बेहोस बनाइ उसका घाँटीमा ‘रेडिओ कलर’ जडान गरी दाह्रा काटिएको बताएका छन्।
भरतपुर महानगरपालिका-२३, बेलहट्ठामा गत असार २० गते ‘धुर्बे’ नामक हात्तीको आक्रमणमा परेर आमाछोराको मृत्यु भएपछि उक्त हात्तीको खोजी तीव्र पारिएको थियो। निकुञ्ज भित्र सुखिभार पोस्ट नजिकैको क्षेत्रमा उक्त हात्ती फेला पारी ‘डार्ट’ प्रहार गरी बेहोस बनाइएको थियो।
नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जका प्राविधिकहरूले झन्डै ४५ मिनेटको प्रयासपछि दाह्रा काटेर त्यसका घाँटीमा स्याटेलाइट प्रविधिमा आधारित ‘रेडिओ कलर’ जडान गरिएको छ भन्ने जानकारी निकुञ्जले गराएको छ।






