Skip to main content

युट्युब र एक्सले न्युडिफाइ एपहरूमा प्रवेश मार्गको रूपमा भूमिका खेल्दै

समाचार सारांश समीक्षा पश्चात तयार गरिएको। इन्टरनेटमा बिना अनुमति अरूको अश्लील सामग्री बनाउने न्युडिफाइ एपहरूको जोखिम युट्युब र एक्स जस्ता सामाजिक सञ्जालहरूका कारण तीव्र रूपमा बढेको छ। आईएसडीको प्रतिवेदनअनुसार डिसेम्बर २०२५ देखि मार्च २०२६ सम्म सामाजिक सञ्जालमार्फत यस्ता साइटहरूमा ५७ लाखभन्दा बढी पटक भिजिट गरिएको छ। न्युडिफाइ एपहरूले यौन सन्तुष्टिपछि मात्र नभई मान्छेको चरित्र हत्या गर्ने र जीवन बर्बाद पार्ने घातक उद्देश्य राख्ने गरेको अनुसन्धानले देखाएको छ। ३२ असार, काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकाससँगै इन्टरनेटमा बिना अनुमति अरूको अश्लील तस्बिर तथा भिडियो बनाउने ‘न्युडिफाइ’ एपहरूको जोखिम अत्यधिक बढिरहेको छ। हालै ‘इन्स्टिच्युट फर स्ट्राटेजिक डायलग’ (आईएसडी) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, यस्ता आपत्तिजनक एपहरू इन्टरनेटको डार्क वेबमा मात्र होइन, हामी दैनिक प्रयोग गर्ने युट्युब र एक्स (ट्विटर) जस्ता लोकप्रिय सामाजिक सञ्जालहरूको माध्यमबाट समेत सजिलै फैलिरहेका छन्। अध्ययनले देखाएको छ कि डिसेम्बर २०२५ देखि मार्च २०२६ सम्मको छोटो अवधिमा मात्र विभिन्न सामाजिक सञ्जालहरूले यस्ता साइटहरूमा ५७ लाखभन्दा बढी भिजिटहरू पुर्‍याएका छन्। यसले यी प्लेटफर्महरू न्युडिफाइ एपहरूको प्रवर्द्धनमा मुख्य माध्यम बन्न पुगेको देखिन्छ। न्युडिफाइ वेबसाइटहरूमा प्रयोगकर्ताहरूलाई पुर्‍याउने सबैभन्दा ठूलो माध्यम युट्युब रहेको छ। यसबाट कुल ट्राफिकको ३० प्रतिशतभन्दा बढी अर्थात् करिब १८ लाख २० हजार भिजिटहरू पुगेका थिए। त्यस्तै, एलन मस्कको स्वामित्वमा रहेको ‘एक्स’ दोस्रो ठूलो माध्यम बनेको छ जसबाट ती साइटहरूमा १३ लाखभन्दा बढी भिजिटहरू भएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार युट्युबमा यस्ता एपहरू सम्बन्धी शब्दहरू खोज्दा ती एपहरूको प्रचार गर्ने, समीक्षा गर्ने र निशुल्क प्रयोग गर्न मिल्ने ‘प्रोमो कोड’ उपलब्ध गराउने भिडियोहरू सजिलै भेटिन्छन्। वायर्डको अर्को रिपोर्टअनुसार, मात्र १ डलर जस्तो सस्तो मूल्यमा एआईको मद्दतले कसैको पनि तस्बिरलाई कपडाविहीन बनाइदिने यस्ता एपहरूको व्यापक प्रयोगका कारण यी साइटहरूले वार्षिक रूपमा ३ करोड ६० लाख डलरसम्म आम्दानी गर्ने अनुमान गरिएको छ। यस्ता एपहरूले विशेष गरी प्रेमिका वा नातेदार महिलाहरूलाई निशाना बनाउने र मुख्य उद्देश्य केवल यौन सन्तुष्टि मात्र नभई मान्छेका चरित्र हत्या गर्ने, जागिरबाट निकाल्न बाध्य पार्ने र जीवन बर्बाद बनाउने घातक उद्देश्य राख्ने गरेको अनुसन्धानले देखाएको छ। सामाजिक सञ्जालहरूले आफ्नो प्लेटफर्ममा अश्लील सामग्री वा त्यस्ता वेबसाइटका लिङ्कहरू राख्न प्रतिबन्ध लगाए पनि यो नीति प्रभावकारी रूपमा लागू हुन नसकेको छ भनी आईएसडीकी सिनियर डाइरेक्टर अफ पोलिसी एन्ड रिसर्च मेलानी स्मिथले बताएकी छन्। यस विषयमा प्रतिक्रिया दिँदै युट्युबका प्रवक्ता बुट बुलविङ्कलले भने कि आफ्ना प्लेटफर्ममा यस्ता आपत्तिजनक सामग्री र बाह्य लिङ्कहरूलाई रोक्ने कडा नीति रहेको छ र त्यस्ता भिडियोहरू फेला परेमा कडाइका साथ हटाइने दाबी गरे।