Skip to main content

‘म उद्यमी’: दशैँअघि ट्रेडमार्क लागू गर्न प्रधानमन्त्री बालेनको आग्रह

महिलाहरूले सञ्चालित उद्योगका उत्पादनहरूको पहिचान र प्रवर्धनका लागि विशिष्ट चिह्नको प्रयोगबारे धेरै काम अघि बढाइसकेको महिला उद्यमी महासङ्घ नेपालले जनाएको छ। प्रधानमन्त्री बालेन शाहले ‘म उद्यमी’ नामक उक्त चिह्नको प्रयोग दशैँअगाडि नै थाल्ने आग्रह गरेसँगै महासङ्घले आवश्यक सर्त र कार्यविधि तयार गरिरहेको महासङ्घकी अध्यक्ष दर्शना श्रेष्ठले बताइन्। महिलाका नाममा दर्ता भएका र महिलाकै नेतृत्वमा सञ्चालित व्यवसायलाई गुणस्तर र क्षमता हेरि यस्तो लोगो प्रयोग गर्न दिइने महासङ्घकी महासचिव सबिता सुवेदीले जानकारी गराइन्।

महिला व्यवसायीहरूले भोग्ने मुख्य चुनौती बजार पहुँच र पहिचान हुनु हो भनेर महासङ्घले जनाएको छ। “महिलाहरूले उत्पादन गर्ने वस्तुहरू गुणस्तरीय हुन्छन्, तर बजारमा पहुँच पाउन ठुलो चुनौती हुन्छ। यस समस्याको समाधान गर्न हामीले छलफल गर्दा गत वर्ष ‘म उद्यमी’ ट्रेडमार्क ल्याएर उनीहरूको सामानलाई ब्राण्डिङ गर्ने सल्लाह भएको थियो,” अध्यक्ष श्रेष्ठले उल्लेख गरिन्। प्रधानमन्त्री शाहसँग बिहीबार महिला उद्यमी टोलीले भेट्दा यस विषयमा उहाँले निकै रुचि देखाउनु भएको अध्यक्ष श्रेष्ठले बताइन। भेटअघि प्रधानमन्त्रीको सचिवालयले जारी गरेको नोटमा “महासङ्घले ल्याएको ‘म उद्यमी’ ट्रेडमार्क ब्राण्ड विकास गरौं भन्ने आग्रहलाई सम्माननीय प्रधानमन्त्री शाह ज्युले स्वीकृत गर्दै तत्काल बजारमा ल्याउन प्रेरणा दिनुभएको छ” लेखिएको छ।

महासङ्घले ट्रेडमार्क दर्ता गराइसकेको छ र प्रधानमन्त्रीसँगको छलफलपछि दशैँअघि प्रयोगमा ल्याउन काम सुरु भएको छ। महिलाद्वारा सञ्चालित व्यवसायमा उत्पादनदेखि सेवा क्षेत्रसमेत समावेश हुन सक्छ। टिम्मुरको छोप र विभिन्न अचार उत्पादन गर्दै देशका प्रतिष्ठित महिला उद्यमीमध्येकी वसुमाया तामाङले नेपाली महिलाको उद्यमशीलताका लागि विशेष ब्राण्डिङले ठूलो सहयोग गर्ने बताइन्। उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्य पनि रहिछन्। तामाङको उद्योगबाट उत्पादित अचार अस्ट्रेलिया, अमेरिका, यूके, जापान, युरोप र खाडी देशहरूमा निर्यात हुन्छ।

महिलाहरूको योगदान नेपालका कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा लगभग ३६ प्रतिशत रहेको महासङ्घले जनाएको छ। कृषि क्षेत्रमा ६० प्रतिशतभन्दा बढी श्रमशक्ति महिलाहरू छन्। अधिकांश महिला लघु, साना र मझौला उद्यममा संलग्न छन् र ती उद्यमले जीडीपीमा २२ प्रतिशत योगदान पुर्याउँछन्। “व्यवसाय दर्ता भएको हिसाबले हेर्दा महिलाका नाममा दर्ता भएका लघु, साना र मझौला उद्योग लगभग २९ प्रतिशत देखिन्छ, तर सबै महिलाले नै सञ्चालन गरिरहेका छैनन्,” अध्यक्ष श्रेष्ठले भनिन्। महासङ्घमा आबद्ध महिला उद्यमीहरूको संख्या ५,७०० पुगेको छ।

राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान हुँदाहुँदै पनि महिला उद्यमीहरू अझै नीति, वित्त, प्रविधि र बजार पहुँचका अवसरबाट पूर्ण रूपले लाभान्वित हुन सकिरहेका छैनन्, अध्यक्ष श्रेष्ठले भनिन्। प्रधानमन्त्रीसँगको छलफलमा महासङ्घले महिला उद्यमीलाई प्रोत्साहन गर्न आवश्यक नीतिगत सुधारका सुझावहरू दिएको छ। “बजार पहुँच, कर्जामा सहजता र ‘बीउ पुँजी’ जस्ता विषयले महिला उद्यमीहरूलाई समस्या बनाइरहेका छन्,” महासचिव सुवेदीले बताइन।