Skip to main content

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालन गर्ने तयारी

टिकटकले नेपालमा चाँडै आफ्ना प्रयोगकर्तालाई कृत्रिम बुद्धिमत्ताद्वारा सिर्जित सामग्री पहिचान गर्न सहयोग पुर्‍याउने एआई साक्षरता हब सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनीले एआईको जिम्मेवार प्रयोग प्रवर्द्धनका लागि विश्वभर ४० लाख अमेरिकी डलर भन्दा बढी लगानी गरिसकेको जनाएको छ।

काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जित सामग्रीलाई सहजै चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्‍याउने नयाँ पहल सुरु गरेको छ। प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले सामग्री सिर्जना र साझेदारी गर्ने तरिका परिवर्तन गरिरहेको अवस्थालाई ध्यानमा राख्दै उक्त पहल अघि बढाएको टिकटकले जनाएको छ।

आउँदो केही हप्ताभित्रै टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालन गर्ने योजना बनाएको छ। यस हब मार्फत प्रयोगकर्ताले एआईसंग सम्बन्धित विषय खोज्दा शैक्षिक सामग्री उपलब्ध गराइनेछ। यसले एआईद्वारा सिर्जित सामग्री कसरी चिन्ने र एआई आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने सम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ।

टिकटकका ग्लोबल पब्लिक पोलिसी टिमका एआई प्रमुख टम वर्गिसले भने, ‘हामी टिकटकमा एआई प्रयोग गर्दा प्रयोगकर्ताले आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रणको अनुभव गर्न सकून् भनी चाहन्छौं। एआईद्वारा सिर्जना गरिएका सामग्री पहिचान गर्न, ती कसरी तयार हुन्छन् बुझ्न र एआई उपकरणलाई सिर्जनात्मक र जिम्मेवार तरिकाले प्रयोग गर्न सहयोग गर्ने प्रविधि, साझेदारी र शैक्षिक सामग्रीमा हामी निरन्तर लगानी गरिरहेका छौं।’