
२० औं एसियाली खेलकुदको तयारीका लागि नेपाली उसु थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्न लागेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चिनियाँ दूतावासका कन्सुलर वाङ दोङले शुक्रबार खेलाडी टोलीलाई बिदाइ गरेका छन्। महासचिव नवराज ढुंगानाका अनुसार नेपाली खेलाडीहरूले युनान विश्वविद्यालयमा कम्तीमा एक महिनासम्म विशेष प्रशिक्षण लिनेछन्।
जापानको आइची-नागोयामा आयोजना हुन लागेको २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसु थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने तय भएको छ। टोलीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई रहेका छन्। एसियाली खेलकुदका लागि छनोट भएकी सुस्मिता तामाङ चीनमै रहेकी कारण त्यहीँबाट टोलीसँग समावेश हुनेछिन्। प्रशिक्षकको रूपमा प्रकाश महर्जन छन्।
नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा खेलाडीलाई युनान विश्वविद्यालयमा प्रशिक्षणमा राख्ने तयारी भइरहेको नेपाल उसु महासंघका महासचिव नवराज ढुंगनाले बताए। उनले प्रारम्भमा खेलाडीहरू एक महिनासम्म प्रशिक्षणमा रहने र थप एक महिनाका लागि पनि त्यहीँ प्रशिक्षण गराउने प्रयास भइरहेकाले जानकारी दिए। साथै एसियाडमा सहभागी हुने सान्सौं खेलाडीको पनि युनानमै प्रशिक्षणका लागि पहल भइरहेको उनले उल्लेख गरे।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चिनियाँ दूतावासका कन्सुलर वाङ दोङले शुक्रबार एक कार्यक्रममार्फत बिदाइ गरेका थिए। सदस्य–सचिव मेहताले वैदेशिक प्रशिक्षणले खेलाडीको मनोबल बढाउने विश्वास व्यक्त गर्दै एसियाडमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए। उनले प्रशिक्षणका लागि सहजीकरण गरेकोमा चीन सरकारलाई धन्यवाद दिँदै आभार प्रकट गरे। कन्सुलर वाङ दोङले युनान विश्वविद्यालयले अघिल्ला वर्षहरूमा पनि नेपालसँग खेलकुद क्षेत्रमा सहकार्य गरेको स्मरण गर्दै खेलाडीहरूले उच्चस्तरको तालिम प्राप्त गर्ने बताए।






