
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा युवा ऐन संशोधन र एकीकरणका लागि तयार पारिएको विधेयकमाथि सरोकारवालासँग छलफल सम्पन्न भएको छ। मन्त्रालयले युवा सम्बन्धी कानुनलाई समयसापेक्ष सुधार गर्दै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्रावधानहरू समेटेर विधेयक तयार गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्री यादवले विभिन्न देशका प्रभावकारी अभ्यास र नेपालको सकारात्मक प्रयासहरूलाई समेट्दै विधेयकलाई थप सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो।
१ साउन, काठमाडौं। छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाल लगायत युवाका क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधि र व्यक्तित्वहरू सहभागी थिए। मन्त्रालयले युवा सम्बन्धी कानुनलाई समयसापेक्ष संशोधन गर्दै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्रावधान समावेश गर्ने विधेयक निर्माण प्रक्रिया अघि बढाएको जानकारी दिएको छ। कार्यक्रममा सहभागी युवाहरूले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनीहरूको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने प्रावधान ऐनमा समावेश गर्नुपर्ने सुझाव दिएका थिए।
साथै, अन्य देशहरूले युवाका क्षेत्रमा अपनाएका सकारात्मक अभ्यासहरू पनि विधेयकमा समावेश गर्नुपर्ने धारणा राखिएको थियो। उक्त सुझावप्रति प्रतिक्रिया दिँदै मन्त्री यादवले विश्वका विभिन्न देशले अपनाएका प्रभावकारी अभ्यासहरूको अध्ययन गरी नेपालका विगतका सकारात्मक प्रयास र उपलब्धिलाई समेत समेटेर विधेयकलाई थप सुदृढ बनाउने बताउनुभयो। छलफलमा मन्त्रालयका सचिव दीपक काफ्ले, पूर्वसचिव रामप्रसाद थपलिया, सहसचिवहरू बाबुराम भण्डारी र मनिता श्रेष्ठ, वैदेशिक रोजगार बोर्डका सहसचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरे तथा नेपाल कानुन आयोगका उपसचिव जलेश्वर रामलगायतको पनि उपस्थिति रहेको थियो।






