
समाचार सारांश पाकिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली भलिबल टोलीलाई आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ। नेपाली पुरुष भलिबल टोलीले पहिलोपटक विश्व वरियता प्राप्त प्रतियोगिता खेल्न लागेको हो र टोलीको कप्तानी हरिहजुर थापाले गर्नेछन्। नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पदक जितेमा वा फाइनलमा पुगेमा खेलाडीलाई प्रति जनालाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।
३ साउन, काठमाडौं। पाकिस्तानको इस्लामाबादमा यही जुलाई २२ देखि २९ सम्म आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीलाई बिदाइ गरिएको छ। नेपाल भलिबल संघले आइतबार एक कार्यक्रमका बीच बिदाइ गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष विशाल श्रेष्ठले नेपाली टिमलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना सहित बिदाइ गरे। काभा पुरुष भलिबल च्याम्पियनसिप एफआईभीबी विश्व वरियता प्राप्त प्रतियोगिता भएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए।
नेपालको पुरुष टिमले पहिलो पटक विश्व वरियता प्राप्त प्रतियोगिता खेल्न लागेको हो। हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा ६ नयाँ खेलाडीहरू समावेश छन्। नेपाली टोलीको प्रशिक्षक जगदिश प्रसाद भट्ट हुन् भने सहायक प्रशिक्षक रुपेश कुमार विष्ट रहेका छन्। प्रतियोगितामा नेपाल र आयोजक पाकिस्तानसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपालमा काव्या महिला विश्व वरियता प्राप्त भलिबल प्रतियोगिता भइसकेको र पुरुष टोलीले पहिलो पटक वरियता प्राप्त प्रतियोगिता खेल्न लागेकोले यो महत्वपूर्ण कदम रहेको बताए।
पुरुष टोलीले विश्व वरियता प्राप्त प्रतियोगितामा राम्रो स्थान हासिल गर्ने चन्दको विश्वास छ। नेपालले पदक नपाउने भनिए पनि २०१७ मा माल्दिभ्समा पहिलोपटक कांस्य पदक जितेको र धेरै अवसरमा नेपाल पदक नजिक पुगेपनि भाग्यले साथ नदिएको उनले बताए। यस प्रतियोगितामा वरियता प्राप्त भएका कारण हरेक खेल महत्वपूर्ण हुने चन्दले बताए। पाकिस्तान र कजाखस्तान बलियो टोली भए भने बाँकी चार टोली समान स्तरका रहेको उनले उल्लेख गरे। नेपालले पदक जिते वा फाइनल खेलेमा नेपाल भलिबल संघले प्रति खेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने अध्यक्ष चन्दले घोषणा गरे।
नेपाली टोली : हरिहजुर थापा (कप्तान), सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नृत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर, विनोद चन्द
मुख्य प्रशिक्षक : जगदिश प्रसाद भट्ट
सहायक प्रशिक्षक : रुपेश विष्ट
व्यवस्थापक : सोम बहादुर श्रेष्ठ (मंगल)






