Skip to main content

जापानमा बालबालिकालाई अनुशासित बनाउने अनौठो तरिका

जापानमा बालबालिकालाई कुटपिट वा गाली नगरी अनुशासित, जिम्मेवार र विनम्र बनाउने विशेष अभिभावकीय शैली अपनाइन्छ। आफ्ना सन्तानलाई समझदार र अनुशासित बनाउन चाहने अभिभावकहरूको प्रयासमा कडा अनुशासनको उदाहरण धेरै पाइन्छ। हाम्रो समाजमा अनुशासन कायम गर्ने नाममा बालबालिकालाई गाली गर्नु वा कुटपिट गर्नु सामान्य ठानिन्छ, तर जापानमा यस्तो हुँदैन। त्यहाँ बिना चर्को स्वर प्रयोग नगरी, बिना कुटपिटका बालबालिकालाई अनुशासित र जिम्मेवार बनाइन्छ।

जापानी अभिभावकीय शैली विश्वकै उदाहरणका रूपमा लिइन्छ। जापानको समृद्धि र विकासमा यहाँका बालबालिका हुर्काउने तरिकाले समेत ठूलो भूमिका खेलेको बताइन्छ। अरूलाई विनम्रतापूर्वक अभिवादन गर्न सिकाउने जापानमा, चाहे जतिसुकै सानो बच्चा होस्, उनीहरूलाई सुरुदेखि नै अरूलाई विनम्रताका साथ नमस्कार गर्न सिकाइन्छ। यसले उनीहरूमा अरूप्रति सम्मानको भावना विकास गराउँछ।

जापानमा सामूहिक चेतना महत्वपूर्ण मानिन्छ, जसले व्यक्तिलाई अनुशासित बन्न बाध्य पार्छ। यसले आफूसँगै अरूको भावनाको पनि ख्याल राख्न जोड दिन्छ। बच्चाहरू सानैदेखि आफ्नो व्यवहारले अरूलाई असर नहोस् भनी सचेत हुन्छन्। घरमा प्रवेश गर्नुअघि जुत्ता फुकाल्ने नियम कडाइका साथ पालना गरिन्छ। यस अभ्यासको तर्क शुद्धता र स्वच्छतामा आधारित छ।

बालबालिकालाई सानैदेखि प्रकृतिसँग माया गर्न र स्रोत साधनको सम्मान गर्न सिकाइन्छ। यसलाई ‘मोत्ताइनाइ’ भनिन्छ, जसको अर्थ छ ‘कुनै पनि कुरा खेर नफाल्नु’। यसले खाना नफाल्ने, अनावश्यक खर्च नगर्ने, र जतन गर्ने संस्कार सिकाउँछ। आत्मनिर्भरता र जिम्मेवारी सानो उमेरदेखि बालबालिकालाई आफ्नै काम आफैं गर्न सिकाइन्छ। जापानी विद्यालयहरूमा विद्यार्थीले आफैले कक्षाकोठा र शौचालय सफा गर्ने गर्दछन्, जसले श्रमको सम्मान गर्ने बानी विकास हुन्छ।