Skip to main content

विश्व वरियतामा समावेशीकरण र पदक जित्ने लक्ष्य

यो प्रतियोगिता नेपालको पुरुष भलिबल टोलीका लागि मात्र खेल होइन, विश्व वरियतामा समावेश हुन र सन् २०१७ पछि पहिलो पटक पदक जित्ने सुनौलो अवसर पनि हो। नेपाली पुरुष भलिबल टोली सोमबार पाकिस्तानको इस्लामावादमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन प्रस्थान गर्दैछ। यो प्रतियोगिता नेपालका लागि ऐतिहासिक छ किनभने सहभागी हुँदै गर्दा टोली पहिलो पटक एफआईभीबीको विश्व वरियतामा समावेश हुँदैछ। हरिहजुर थापाको कप्तानीमा रहेको १२ सदस्यीय टोलीले एक दशकपछि अन्तर्राष्ट्रिय पदक जित्ने लक्ष्यका साथ प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। ३ साउन, काठमाडौं।

केही समयअघि नेपालमा सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपमार्फत नेपालको महिला भलिबल टोली एफआईभीबीको विश्व वरियतामा समावेश भएको थियो। घरेलु कोर्टमा महिला टोली चौथो भए तापनि विश्व वरियतामा समावेश हुनु महत्वपूर्ण उपलब्धि सावित भयो। अब नेपालका पुरुष भलिबल टोलीले पाकिस्तानको इस्लामावादमा यही जुलाई २२ देखि २९ सम्म आयोजना हुने विश्व मान्यता प्राप्त काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने छ। यो प्रतियोगिता नेपाली पुरुष टोलीका लागि एक सामान्य प्रतियोगिता मात्र नभई विश्व वरियतामा समावेश हुने र सन् २०१७ पछि पहिलो पटक पदक जित्ने अवसर पनि हो।

नेपालको महिला भलिबल टोलीले धेरै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरे तापनि सिनियर पुरुष टोलीले २०१७ मा माल्दिभ्समा भएको एभिसी एसियन सेन्ट्रल जोन भलिबलमा कांस्य पदक जितेपछि कुनै पदक हात पार्न सकेको छैन। नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक एफआईभीबीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगितामा खेल्ने अवसर पाउने भएकोले विश्व भलिबलको मानचित्रमा नेपालको नाम दोहोरिने छ। यस पटक काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालसहित आयोजक पाकिस्तान, कजाखस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेश गरी ६ राष्ट्र सहभागी हुनेछन्। “भलिबल संघले नेपाललाई विश्व भलिबलमा देख्न चाहन्छ। यो प्रतियोगितामा सहभागी हुँदा नेपाल विश्व वरियतामा आउने भएकाले संघले यसमा प्रतिभाग गर्ने निर्णय गरेको हो,” मुख्य प्रशिक्षक जगदिश भट्टले भने, “हामी अंकका लागि लड्नेछौं र World Ranking मा माथि जाने योजना बनाएका छौं।”