
साविक विजेता अर्जेन्टिनाले फाइनल खेलका लागि आफ्नो पहिलो रोजाईको टोलीमा तीन खेलाडीसँग परिवर्तन गरेको छ। फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीच न्यूयोर्कको न्यू जर्सी स्टेडियममा केही समयमै प्रतिस्पर्धा हुँदैछ। गोन्जालो मोन्टिएल, रोड्रिगो डे पाउल र निकोलस गोन्जाले पहिलो रोजाईमा खेल्नेछन्। सेमिफाइनलमा इङ्ल्याण्ड विरुद्ध खेलेका नाहुएल मोलिना, जिलियानो सिमिओनी र लिउन्ड्रो पारेडेस भने आज बेन्चबाट खेल सुरु गर्नेछन्।
स्पेनले भने फ्रान्सलाई हराएको टिमबाट कुनै पनि परिवर्तन नगरी आजको निर्णायक खेल खेल्ने निर्णय गरेको छ। सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० ले हरायो भने अर्जेन्टिनाले इङ्ल्याण्डलाई २-१ ले पराजित गरेको थियो। युरोप र कोपा अमेरिका दुई महादेशीय च्याम्पियनबीचको विश्वकप फाइनल हुन लागेको यो पहिलो पटक हो। स्पेन र अर्जेन्टिनाबीच विश्वकपमा ६० वर्षपछि आमने-सामने हुँदैछन्। यसअघि यी दुई टोली सन् १९६६ मा मात्र विश्वकपमा भिडेका थिए।
दुवै टोलीबीच कुल १४ खेल हुँदा दुवैले समान ६-६ खेल जितेका छन् भने २ खेल बराबरीमा अन्त्य भएका छन्। फिफा विश्वकप २०२६ को फाइनल खेलको सम्पूर्ण लाइभ अपडेटको जानकारी यस लिंकमा पढ्न सकिनेछ।






