
दुग्ध विकास संस्थानले दूध संकलन प्रणालीलाई व्यवस्थित बनाउन नयाँ नीति लागु गर्दै साउन मसान्तसम्म सम्पर्क र नवीकरण अनिवार्य गरेको छ। निर्धारित समयमा सम्पर्कमा नआएका सहकारी र फार्महरुको दूध खरिद गर्न संस्थान बाध्य नहुने स्पष्ट पारेको छ। दुग्ध व्यवसायीहरूले दूध कारोबार निरन्तरता दिन जिल्ला आयोजना कार्यालय वा चिलिङ सेन्टरमा सम्पर्क गरी नवीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूध संकलन प्रणालीलाई आधुनिकीकरण र थप व्यवस्थित बनाउने लक्ष्यसहित नयाँ नीति लागु गरेको हो। देशभरिका किसानबाट लामो समयदेखि दूध संकलन गर्दै आएको डीडीसीले आर्थिक वर्ष २०७८/७९ देखि लागू हुने गरी दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्महरूलाई साउन मसान्तसम्म सम्पर्क र नवीकरण अनिवार्य गरेको छ।
डीडीसी केन्द्रीय कार्यालय लैनचौरले सूचना जारी गर्दै दूध संकलनलाई प्रविधिमैत्री, अनुमानयोग्य, दिगो र थप व्यवस्थित बनाउन नयाँ नीति लागु भएको जानकारी गराएको छ। डीडीसीसँग निरन्तर दूध कारोबार गर्न चाहने दुग्ध उत्पादक सहकारी संस्था र निजी फार्महरूले साउन भित्र अनिवार्य सम्पर्क गर्नुपर्नेछ।
सूचनामा भनिएको छ, ‘२०७८ साउन मसान्तसम्म सम्पर्कमा नआउने संस्था तथा फार्मसँग दूध कारोबार गर्न डीडीसी बाध्य नहुनेछ।’ साउन मसान्तपछि सम्पर्कमा नआएका फार्म वा सहकारीहरूको दूध डीडीसीले उठाउन पनि नचाहने सम्भावना रहेको छ। ५७ वर्षदेखि दुग्ध क्षेत्रमा क्रियाशील रहेको डीडीसीले सहकारी संस्था, निजी फार्म र किसानबाट दूध संकलन गर्दै आइरहेको छ।






