
कक्रोच जनता पार्टीले शिक्षामन्त्रीको राजीनामासहित माग राख्दै प्रदर्शनका क्रममा दिल्लीमा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गर्यो। विपक्षी दलका नेताहरूले प्रहरी दमनको कडा निन्दा गर्दै सरकारलाई प्रदर्शनकारीको माग सुन्न आग्रह गरे। सीजेपी प्रवक्ता सौरभ दासले माग पूरा नभएसम्म आन्दोलन जारी रहने र प्रदर्शनकारीमाथि दमन भएको आरोप लगाएका छन्। ४ असार, काठमाडौं। कक्रोच जनता पार्टी (सीजेपी) जन्तर-मन्तरबाट थालेको ‘चलो संसद्’ अभियानले राजनीतिक परिवेशमा नयाँ आयाम थपेको छ। सीजेपीका प्रवक्ता सौरभ दासले आज सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै सरकारले वार्ता गर्न बोलाएको जानकारी दिएका छन्। केन्द्रीय मन्त्री जेपी नड्डासँगको फोटो सार्वजनिक गर्दै दासले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लगायत अन्य विषयमा छलफल भएको बताएका छन्। बिहान १२ बजेदेखि मन्त्री निवासमा वार्ता भइरहेकै बताउँदै दासले मागको सुनुवाइ भएको तर कुनै प्रतिबद्धता नभएको बताएका छन्। मन्त्री जेपीले भने यो विषयलाई उचित तहमा राख्नुपर्ने बताएका छन्। सरकार पक्षबाट यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। प्रधानन्यायाधीश सूर्यकान्तको युवामुखी टिप्पणीले उत्पन्न यो पार्टीले नेता, सेलिब्रेटी, कलाकार र अभियन्ताहरूको ध्यानाकर्षण गरेका छन्। पछिल्लो महिनादेखि जन्तर-मन्तरमा सीजेपीले शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ। पर्यावरण अभियन्ता सोनाम वाङचुक २३ दिनदेखि भोक हड्तालमा छन्। सीजेपी अध्यक्ष अभिजित दीपके शनिबारदेखि भोक हड्तालमा थिए। स्वास्थ्यमा समस्या आएपछि उनले सोमबार आफ्नो हड्ताल तोडे। जेपी नड्डासँग वार्ताको क्रममा प्रवक्ता सौरभ दासले मागपत्र बुझाएका छन् जसमा तीनवटा मुख्य मागहरू समावेश छन्। पहिलो माग सोनाम वाङचुकलाई अस्पतालबाट डिस्चार्ज गर्ने र आन्दोलनमा उनीमाथि कुनै कडा कारबाही नहुने छूट दिने विषय हो। दोस्रो धर्मेन्द्र प्रधानको राजीनामा वा बर्खास्त गर्ने विषयमा छ। तेस्रो भनेको नीट २०२६ पेपर लीक पछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति दिने सम्बन्धी छ। प्रवक्ता सौरभ दासले एक्समार्फत जेपी नड्डासँग भेट २ घण्टाभन्दा बढी पर्खनुपरेको र सरकारबाट कुनै प्रतिबद्धता नआएको तर आन्दोलन जारी रहने बताएका छन्। उनले भने, ‘प्रदर्शनकारीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।’ सोमबार बिहानैदेखि सुरु भएको प्रदर्शनका लागि प्रदर्शनकारीहरू आइतबार नै जम्मा भएका थिए। सफदरजंग अस्पतालमा भर्ना भएका वाङचुकले पनि संसद् मार्चमा सहभागी हुने अनुमति मागेका थिए र आफू ठीक महसुस गरिरहेको बताएका थिए। उनले अस्पताललाई लेखेको पत्रमा उल्लेख गरेका थिए, “म आज पूर्णरूपमा ठीक छु। मेरो स्वास्थ्यका सबै मापदण्ड सामान्य छन्। मलाई अस्पतालबाट जान अनुमति दिनुहोला। म आजको संसद् चलो मार्चमा सहभागी हुन चाहन्छु। यसका लागि म धेरै आभारी हुनेछु।” यसअघि उनले सोमबार अर्को पत्र पनि जारी गरेका थिए जसमा आफ्नो अनशन समाप्त गर्ने शर्तहरू उल्लेख गरेका थिए। पत्रमा सीधै के भनेका थिए भने केन्द्र सरकारले अहिलेको शिक्षा व्यवस्थाको असफलताको जिम्मा लिनुपर्ने वा सांसदहरूले संसद्मा यो विषय उठाउने आश्वासन दिनुपर्नेछ। शर्त पुरा भएमा उनी जुलाई २० मा अनिश्चितकालीन भोक हडताल तोड्ने बताए। तर स्वास्थ्यको कारण मार्चमा सहभागी हुन अनुमति पाएका थिएनन्। तर संसद् मार्चको क्रममा दिल्ली प्रहरी र अर्धसैनिकलाईले प्रदर्शनकारीसँग झडप गरे। प्रहरीले अश्रुग्यास प्रयोग गरी उनीहरूलाई नियन्त्रणमा लिए। सीजेपी प्रवक्ता सौरभ दासले दिल्ली प्रहरीले संस्थापक अभिजित दीपकेलाई समातेको दाबी गरेका थिए, तर दिल्ली प्रहरीले त्यसलाई अस्वीकार गर्यो। पछि दासले नयाँ पोस्टमा अभिजित दीपकेलाई नियन्त्रणमा नराखिएको र पक्राउ नगरिएको बताए। सीजेपीले अर्को दाबी गर्दै भन्यो, “दिल्ली प्रहरीले गीताञ्जली अंगमोको कपाल तानेर अभद्र व्यवहार गरेको छ।” उनीहरूले भनाइमा थपे, “एक १२ वर्षीय बालकको टाउको फुटेको छ र ४०-५० जना मानिसको टाउकोमा चोट लागेको छ।” तर दिल्ली प्रहरीले यी दाबीहरू गलत भएको घोषणा गर्दै सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाको खण्डन गर्यो। उनीहरूले भने, “गीताञ्जली, १२ वर्षीया बालिकामाथि कुटपिट भएको र ४०-५० जनाको टाउको फुटेको भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिरहेको छ।” “यी दाबीहरू सत्यतामा आधारित छैनन्। कृपया गलत वा भ्रामक सूचना नफैलाउनुहोस् र बढाएर नबोल्नुहोस्।” यसपछि सौरभ दासले नयाँ पोस्टमा सोना वाङचुककी पत्नीलाइ कुटपिट गरेको दाबी गरे, यद्यपि उनले ४०-५० जनाको टाउको फुटेको र १२ वर्षीया बालिकालाई चोट लागेको कुरा भने प्रकाशनमा उल्लेख गरेनन्। सीजेपीको उदयको बेला टीएमसी दलहरूले समर्थन दिएका थिए, तर अरु विपक्षी दल र नेताहरू शुरुमा यो आन्दोलनबाट टाढा रहेका थिए। पछि केही नेताहरू व्यक्तिगत रूपमा सहभागी भए। आइतबार पूर्व दिल्ली उपमुख्यमन्त्री मनिष सिसोदिया धरनास्थल पुगे। उनले जनतालाई पार्टीभन्दा माथि उठेर मार्चमा सहभागी हुन आह्वान गरे। उनले एक्समा लेखे, “यो देशका बालबालिकाको भविष्यको लागि मार्च हो। भारतलाई शिक्षा माफियाबाट मुक्त गराउने मार्च हो।” समाजवादी पार्टीकी सांसद प्रिया सरोज पनि आइतबार जन्तर-मन्तर पुगे र मञ्चबाट सहभागी हुन आग्रह गरिन्। उनले सोमबार हुने मार्चमा सहभागी हुने भनिसकेकी थिइन्। समाजवादी पार्टीका सांसद राजीव राय र इक़रा हसन पनि आइतबार पुगे। मञ्चबाट राजीव रायले समाजवादी पार्टी र सम्पूर्ण कार्यकर्ताले सीजेपीको आन्दोलनलाई समर्थन गर्ने बताए। शुक्रबार कांग्रेस प्रवक्ता तथा राज्यसभा सांसद पवन खेडा सोनाम वाङचुक र प्रदर्शनकारीहरूलाई भेट्न जन्तर-मन्तर पुगेका थिए। पवन खेडाले एक्समा लेखेका छन्, “लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु हरेक नागरिकको संवैधानिक अधिकार हो। जब नागरिकहरूले भोक हड्ताल गर्दा आफ्नो कुरा राख्दछन्, तब सरकारले उनीहरूको कुरा सुन्नुपर्दछ। उनीहरूलाई बिर्सनु सरकारको दायित्व होइन। यही हो सरकारको मूल कर्तव्य।” उनले थपे, “कांग्रेस पार्टीका तर्फबाट म जन्तर-मन्तरमा सोनाम वाङचुक तथा प्रदर्शनकारीहरूलाई भेटें र बिग्रँदो स्वास्थ्यलाई ध्यानमा राखी अनशन तोड्न आग्रह गरें। कुनै पनि आन्दोलनमा आफ्नो कार्यकर्ता गुमाएर बलियो बनाउन सकिँदैन। हामी संघर्ष जारी राख्न जीवित रहनुपर्छ।” संसद्मा पनि सीजेपीको विषयलाई लिएर विपक्षी दलहरूले प्रश्नहरू उठाउँदै आएका छन्। भारतीय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले सोमबार राज्यसभामा सीजेपीका प्रदर्शनकारीमाथि भएको प्रहरी लाठीचार्जको मुद्दा बलियो ढंगले उठाएका छन्। पेपर लिक मामिलामा जन्तर-मन्तरमा जम्मा भएका हजारौं प्रतिनिधिहरूमाथि प्रहरीले लाठीचार्ज गरेको बताए। उनले मोदी सरकारले युवाहरूका आवाज दबाउन खोजिरहेको आरोप लगाएका छन्। यस्तै, कक्रोच जनता पार्टीले (सीजेपी) सामाजिक सञ्जाल एक्स मार्फत अध्यक्ष खड्गेलाई धन्यवाद ज्ञापन गरेको छ जसले संसद्मा युवाहरूको पक्षमा आवाज उठाएका थिए। संसद् बाहिर सञ्चारकर्मीहरूसँग गफ गर्दा खड्गेले दिल्ली आएर युवाहरूले राखेका मागहरूलाई दमन गर्नु गलत भएको उल्लेख गरे। त्यस्तै, दिल्लीका पूर्वमुख्यमन्त्री र आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले सीजेपीका प्रदर्शनकारीमाथि भएको लाठीचार्जप्रति कडा विरोध जनाए। उनले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गरी सरकारसँग अहंकार त्यागेर युवाहरूसँग वार्ता गर्न आग्रह गरे। न्याय माग्न सडकमा उत्रिएका युवाहरूमाथि भइरहेको दमनप्रति लक्षित गर्दै केजरीवालले भने, “बालबालिकाहरू न्याय माग्न सडकमा उत्रिँदा उनीहरूलाई कुटपिट भइरहेको छ। म मोदीजीलाई आग्रह गर्छु, युवाहरूको आक्रोशलाई बुझ्नुस्, नत्र यो तपाईंका लागि ठूलो समस्या हुनेछ।” उनले एक्समा लेखे, “यो देशका बालबालिका हुन्, जो न्यायका लागि सडकमा आएका छन्। अहंकार छोड्नुस् र उनीहरूको कुरा सुनुन्।






