
सातौं इटिटी टेबलटेनिस प्रतियोगिता र ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। इटिटी टेबलटेनिस र ४२ औं राष्ट्रिय प्रतियोगिताका स्वर्ण विजेता महेश श्रेष्ठ, दिक्षा दाहाल, रनोज थकु र रजत विजेता एलेक्स महर्जनलाई इटिटीले पुरस्कार स्वरूप उक्त भ्रमण प्याकेज प्रदान गरेको हो। ४२ औं राष्ट्रिय प्रतियोगिताका स्वर्ण विजेता संयोग कपाली भने दक्षिण कोरियामा प्रशिक्षणरत रहेकाले उनी बैंकक भ्रमणमा सहभागी हुन पाएनन्।
खेलाडीहरू इटीटीको आयोजनामा भएको टिम इभेन्टका स्वर्ण विजेता हुन्। इटीटीले स्वर्ण विजेता टोलीका सदस्य र ४२ औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण र रजत विजेतालाई पाँचदिने बैंकक भ्रमणको ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको थियो। सोही अनुसार खेलाडीलाई ‘प्याकेज’ प्रदान गरिएको हो।
खेलाडीलाई इटिटीका अध्यक्ष सुमन खड्गी, इटीटी टेबलटेनिसको छैटौं संस्करणका विजेता राजेन्द्र वज्राचार्य, अनिता महर्जन, मुकेश महर्जनलगायतले सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। अध्यक्ष खड्गीले खेलाडीलाई छुट्टै वातावरणमा आराम गर्न यो अवसर फलदायी हुने विश्वास व्यक्त गरे।






