कक्रोच जनता पार्टी: भारतमा जेन जीन पिँढीले कसरी सडकबाट मोदी सरकारलाई चुनौती दियो

भारतको राजधानी दिल्लीको मध्यभाग सोमबार बिहानदेखि तनावपूर्ण बन्यो। कनट प्लेस, जनपथ र जन्तरमन्तरसहितका क्षेत्रमा हजारौं युवा घुँइचोमा थिए। धेरै स्थानमा मेट्रो स्टेशन र सडकहरू बन्द थिए। तर ती युवा सबै अवरोधहरू छिचोल्दै बिहानदेखि नै जन्तरमन्तर पुग्ने प्रयासमा थिए। लाठी प्रहार र अश्रुग्याँस प्रहारका बाबजुद उनीहरू बेलुका अबेरसम्म जन्तरमन्तरमै टिकेका थिए।
भारतको शिक्षा प्रणालीमा सुधार र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै दिल्लीको जन्तरमन्तरमा झन्डै एक महिना देखि कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा आन्दोलन जारी छ। यसअगाडि सधैं उठ्ने प्रश्न के थियो भने – सामाजिक संजालमा केही दिनमै करोडौँ फलोअर जोडिएको कक्रोच जनता पार्टी साँच्चिकै कत्तिको बलियो छ? सोमबार यो प्रश्नको जवाफ प्राप्त भयो। कलेजमा पढिरहेका र परीक्षा तयारीमा लागि रहेका विद्यार्थीहरूले ठूलो संख्यामा सडकमा ओर्लिए। उनीहरूको धारणा छ कि सरकार उनीहरूको उठाएका सवालहरूमा लामो समय मौन बस्न सक्दैन।
पछिल्लो एक महिना देखि यो आन्दोलनको ‘कभर’ गरिरहेका स्वतन्त्र पत्रकार स्मिता शर्माका अनुसार यी युवाले सरकारलाई शिक्षा प्रणाली मात्र होइन महँगी र बेरोजगारी जस्ता अन्य मुद्दाहरूलाई पनि बेवास्ता गर्न नहुने सन्देश दिएका छन्। कक्रोच जनता पार्टीले केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानकै राजीनामा माग्दै सोमवार संसद् भवनतिर मार्च गर्न समर्थकहरूलाई आह्वान गरेको थियो। त्यसैले ठूलो संख्यामा युवाहरू दिल्लीका सडकमा भेला भए।
बिहान कतिपय स्थानमा तनाव भयो। पछि सीजेपीले दाबी गर्यो कि सरकारले तिनीहरूलाई वार्ताको लागि बोलाएको छ। तर केन्द्रीय मन्त्री जेपी नड्डाले भनेकि वार्ताको प्रस्ताव प्रदर्शनकारीहरूले गरेका थिए। नड्डाले सामाजिक सञ्जाल ‘एक्स’मा लेखे : “आज बिहान पहिलो पटक प्रदर्शनकारीहरूको तर्फबाट सरकारसँग वार्तामा बसेको प्रस्ताव आयो र बिहान ११:५० बजेदेखि नै हाम्रो वार्ता चलिरहेको छ।” “शान्तिपूर्ण वातावरणमा बैठक भयो। उनीहरूको प्रतिनिधिमण्डलसँग विस्तारपूर्वक मौखिक छलफल भयो र त्यसपछि झन्डै ४ बजे उनीहरूले मलाई लिखित निवेदन दिए। मैले सबै प्रदर्शनकारीलाई धर्ना समाप्त गरेर अवस्था सामान्य बनाउन प्रशासनलाई सहयोग गर्न अनुरोध गरेको छु।” तर, यति ठूलो विरोध प्रदर्शनपछि पनि सरकारले सीजेपीको मुख्य माग अहिलेसम्म स्वीकार गरेको छैन।
यसैले युवाहरू सडकमा ओर्दा के उपलब्धि भयो भन्ने प्रश्न उठेको छ। सामाजिक कार्यकर्ता योगेन्द्र यादवले सोमवार भने, “आज जन्तरमन्तरमा मैले भेटेको नयाँ पुस्ताले मेरो विश्वास अझ बलियो बनायो। यी युवाहरूले आफू मात्रको लागि सङ्घर्ष गरिरहेका छैनन्। उनीहरू न्यायपूर्ण शिक्षा, रोजगार सृजना र जनताप्रति जवाफदेह राजनीति को लागि सङ्घर्षरत छन्।” पत्रकार स्मिता शर्माका अनुसार सोमवारको विरोधप्रदर्शनमा यति ठूलो संख्यामा युवाहरू सडकमा ओर्लिन्छन् भन्ने कसैले सोचेका थिएनन्।
उनले सोमवारको विरोधलाई नेतृत्वविहीन आन्दोलनको रूपमा पनि हेर्नुपर्ने धारणा राख्छिन्। “इन्टरनेट बन्द थियो। सीजेपीका नेताहरूले आफ्ना विचार फैलाउन सकिरहेका थिएनन्। मेट्रो स्टेशनहरू बन्द थिए। सन्देश पुर्याउन कठिनाइ थियो। आन्दोलन शिक्षाबाट सुरू भएको थियो, तर पछि मुद्दा महँगी, बेरोजगारी र मतदानमा धोखाधडीसम्म पुगेको थियो। कक्षा १२ र कलेजका विद्यार्थीहरूले यी प्रश्न उठाए जुन अनौठो कुरा हो।”
यो आन्दोलनले आगामी दिनमा सरकारका लागि कस्तो चुनौती ल्याउन सक्छ? स्मिताले भनिन्, “सरकारले यसबाट पाठ न्लिएको खण्डमा ठूलो गल्ती हुनेछ। किनभने युवाहरू मार्च गरेर संसद् पुग्न चाहेका छन्। सीजेपीले उनीहरूलाई रोक्न सकेन भने हजारौं मानिस संसद् मार्च गर्न अघि बढ्ने थिए।” “उनीहरूलाई लाठीले प्रहार गरियो। तर उनीहरू फर्केर फेरि आउँदै थिए, सामना गर्दै थिए। यदि निराशालाई नजरअंदाज गरियो भने आज एउटा बलुन फोटेको जस्तै भविष्यमा आक्रोश फेरि विस्फोट हुन सक्छ। यो सरकारका लागि गम्भीर सन्देश हो।” वरिष्ठ पत्रकार हेमन्त अत्री पनि स्मितासँग सहमत छन्।
उनी युवाहरूको विशाल सहभागिताको कारणले यो विरोध प्रदर्शन मोदी सरकारका लागि भविष्यमा समस्या सिर्जना गर्ने सङ्केत मान्छन्। उनले भने, “मोदी सरकारले अहिलेसम्म सहज रूपमा जनतालाई लिँदै आएको थियो, त्यो भ्रम भत्किएको छ। यो विरोध प्रदर्शनको ठूलो उपलब्धि हो। मानिसहरू चुपचाप फर्किएका छैनन्,” उनले भने। “उनीहरूले यो देशको लोकतन्त्र बलियो र यसको जरा गाढा रहेको देखाएका छन्। सरकारले यसलाई कमजोर बनाउन सक्दैन।”
“कुनै पनि देशका लागि युवाहरूको उपस्थिति वर्तमानकालका लागि मात्र होइन, भविष्यका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण र निर्णायक हुन्छ,” अत्रीको भनाइ छ। “चाहे सरकार छान्न होस् वा सरकार परिवर्तन गर्न।” “सरकारका लागि यो चेतावनीको घण्टी हो। लामो समयसम्म जनतालाई बेवास्ता गर्न पाइँदैन। सरकारले जवाफदेहिता सुनिश्चित गर्नुपर्छ। नत्र जनता सडकमा ओर्लिने कुरा बिर्सिनु हुँदैन। यसमा परिणाम दिर्घकालीन हुनेछ। हाम्रो लोकतन्त्र दानमा आएको होइन, हामीले यसलाई जितेका हौं। दिल्लीका सडकमा जे देखियो त्यो नै हाम्रो लोकतन्त्रको शक्ति हो।” हेमन्त अत्री भन्छन्, “सरकारलाई लाग्छ कि हिन्दू-मुस्लिमको नाममा राजनीति चलाउन सकिन्छ। अब त्यो संभव छैन। जनता मुख्य मुद्दामा फर्कँदै छन्।” “युवाहरू यसरी अगाडि आउनु सरकारका लागि ठूलो चेतावनी हो। सरकारले आफ्नो काम गर्ने शैली सुधार्नुपर्छ।






