
बेल्जियम राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रुडी गार्सियाले आफ्नो पदबाट बिदा लिन लागेका छन्। बेल्जियम फुटबल संघले जुलाई ३१ मा सकिने ६२ वर्षीय गार्सियाको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ। उनका नेतृत्वमा बेल्जियमले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। क्वार्टरफाइनलमा बेल्जियम च्याम्पियन स्पेनसँग २–१ ले पराजित भएको थियो। प्रतियोगिताभर बेल्जियम स्पेनविरुद्ध गोल गर्ने एकमात्र टोली पनि बन्यो। चार्ल्स डे केटेलारेले स्पेनविरुद्ध गोल गरेका थिए।
बेल्जियम फुटबल संघले जारी गरेको विज्ञप्तिमा गार्सियाले पछिल्लो १८ महिनाको सफलतालाई निरन्तरता नदिने निर्णय गरिएको जनाएको छ। गार्सियाले भने, ‘बेल्जियमलाई नेसन्स लिगको ए डिभिजनमा कायम राख्न र विश्वका शीर्ष आठ टोलीमध्ये एक बनाउने अवसर पाउँदा म गर्व महसुस गर्छु। खेलाडीहरू, खेल निर्देशक भिन्सेन्ट मानार्ट र विश्वकपमा साथ दिने सबै समर्थकप्रति म आभारी छु। साथै नयाँ पुस्ताको निर्माण प्रक्रिया सुरु गर्न पाउँदा खुसी छु।’
गार्सियाले बेल्जियमको प्रशिक्षकको रूपमा २० खेल सम्हालेका थिए। यस अवधिमा टोलीले १२ जित, ६ बराबरी र २ हार बेहोरेको थियो। उनले पहिले लिल, मार्से, लियोन र एएस रोमा जस्ता युरोपका चर्चित क्लबहरूमा पनि प्रशिक्षण सम्हालेका थिए।






