राहुल गान्धीको माग : प्रदर्शनमा कुटिएको विद्यार्थीमाथि नरेन्द्र मोदीले माग्नुपर्छ माफी

५ साउन, काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रहरीले प्रदर्शनकारी विद्यार्थीमाथि गरेको लाठीचार्जका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नुपर्ने माग गरेका छन्। मंगलबार लोकसभा संसद् परिसरमा पत्रकारसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षका नेता गान्धीले प्रधानमन्त्री मोदीले विद्यार्थीहरूबाट माफी माग्नुपर्ने बताएका छन्। सोमबार नयाँ दिल्लीमा कक्रोच जनता पार्टी(सीजेपी)ले आयोजना गरेको प्रदर्शनमा सहभागीमाथि प्रहरीले ठूलो दमन गरेको थियो। प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो, जसको अहिले भारतमा तीव्र विरोध भइरहेको छ।
गान्धीले विद्यार्थीका मुद्दा संसद्मा छलफल गराउन सरकार बच्न कोसिस गरिरहेको बताएका छन्। ‘हामीले लोकसभाको सभामुखसँग छलफल गरेर संसद्मा विद्यार्थीका मुद्दामाथि छलफल गराउन माग गर्यौं,’ पत्रकारसँग गान्धीले भने, ‘तर, सभामुखले भन्नुभयो–चर्चा गराउनका लागि सरकारको स्वीकृति लिनुपर्छ।’ अहिले भारतमा उठिरहेका मुद्दा विद्यार्थीको भविष्यसँग जोडिएको उनले बताए। ‘विद्यार्थीलाई मारपिट भइरहेको छ, यो ठीक छैन। नरेन्द्र मोदीले यसका लागि माफीसम्म मागेका छैनन्। यी युवा ध्वस्त भइसकेको शिक्षा व्यवस्था र परीक्षा प्रणालीविरुद्ध प्रदर्शन गरिरहेका छन्,’ उनले भनेका छन्।
उनीले यसमा प्रधानमन्त्री मोदीले माफी माग्न र विद्यार्थीमाथिको कुटपिटको सिलसिला बन्द गर्न जोड दिएका छन्। यस्तै, शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थीमाथि कुटपिट नगरेको बताउँदै गृहमन्त्री अमित शाहले गरेको दावीको समर्थन गरेका छन्। यही कारणले गृहमन्त्री शाहले राजीनामा दिनुपर्ने उनको माग छ। गान्धीले मंगलबारै सीजेपीको प्रदर्शनका घाइतेसँग अस्पताल पुगेर भेट गरेका छन्।






