
किलियन एम्बाप्पेले २२ गोल गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेर जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान तोडेका छन्। लियोनेल मेसीले एकै विश्वकप संस्करणमा २३ जित निकाल्दै, लगातार नौ खेलमा गोल गर्दै र पेनाल्टी क्षेत्रबाहिरबाट सात गोल गर्दै तीन ऐतिहासिक कीर्तिमान बनाएका छन्। स्पेनका गोलरक्षक उनाइ सिमोनले आठ खेलमध्ये सातमा क्लिनसिट राखेर विश्वकप इतिहासकै नयाँ कीर्तिमान कायम गरेका छन्। ५ साउन, काठमाडौं। फिफा विश्वकप २०२६ ले नयाँ विश्व च्याम्पियन मात्र जन्माएन, विश्व फुटबलका धेरै पुराना कीर्तिमान पनि तोडिदियो। लियोनेल मेसी, किलियन एम्बाप्पे, रोड्री, उनाइ सिमोन र माइकल ओलिसेसहित धेरै खेलाडीले इतिहासमा नयाँ अध्याय थपे भने केही प्रशिक्षक र टोलीले पनि दुर्लभ उपलब्धि हासिल गरे। फिफाले समावेश गरेको कीर्तिमानहरू समेटेर यो लेख तयार पारेका छौं।
फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगिता सकिँदासम्म २२ गोल पुर्याउँदै जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान तोडे। विश्वकप सुरु भएपछि सुरुमा लियोनल मेसीले यो कीर्तिमान तोडे पनि प्रतियोगिता सकिँदा एम्बाप्पे मेसीभन्दा अगाडि रहँदै शीर्ष स्थान कब्जा गरे। मेसीका तीन विश्व कीर्तिमान अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले एउटै संस्करणमा तीन ऐतिहासिक कीर्तिमान बनाए। उनी विश्वकपमा सबैभन्दा धेरै जित (२३) निकाल्ने खेलाडी बने। यस्तै उनले लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान पनि बनाए। यसअघि जस्ट फन्टेन र जाइरजिन्होको नाममा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान थियो। मेसी विश्वकपमा पेनाल्टी क्षेत्रबाहिरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने। उनले पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट ७ गोल गरे।






