घरायसी बिजुलीमा भ्याट कटौतीको घोषणा – प्रधानमन्त्री एन्डी बर्नह्याम

बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले १ अक्टोबरदेखि घरायसी बिजुलीको बिलबाट भ्याट कटौती गर्ने घोषणा गरेका छन्। यस निर्णयले सामान्य ऊर्जा उपभोग गर्ने उपभोक्तालाई वार्षिक करिब ४५ पाउन्ड बचत हुने अनुमान गरिएको छ। प्रधानमन्त्री नियुक्त भएसँगै पहिलो दिनमै उनले यो घोषणा गरेका हुन्।
बीबीसीका अनुसार, बिजुलीको बिलमा भ्याट कटौती हुँदा सामान्य मात्रामा ऊर्जा प्रयोग गर्ने घरायसी उपभोक्ताले प्रत्येक वर्ष करिब ४५ पाउन्ड बचत गर्ने अपेक्षा गरिएको छ। पश्चिम एसियाली द्वन्द्वका कारण थोक मूल्यमा परेको प्रभावले बेलायतमा जुलाईमा सामान्य बिल १३ प्रतिशत (महिनामा करिब १८ पाउन्ड) ले बढेको थियो।
घरायसी बिजुली शुल्कमा भ्याट कटौतीले जीवनयापन लागतको दबाब कम गर्न मद्दत पुर्याउनेछ। ग्रीन पार्टीका नेता ज्याक पोलान्स्कीले यसलाई “एउटा सुरुवात” भने पनि अझै धेरै गर्नुपर्ने बताए। उनले भने, ‘अर्को कठिन जाडोको सामना गरिरहेका लाखौँ परिवारका लागि यो पर्याप्त हुनेछैन।’






