
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १५८ रनको लक्ष्य नामिबियाले ३७.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि रोहित पौडेलले ३१ र दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए पनि टोली ४६.५ ओभरमा १५७ रनमा समेटिएको थियो।
५ साउन, काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा आजदेखि सुरु भएको ओडीआई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको हो। मंगलबार राति सम्पन्न खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। नामिबियाका लागि जान फ्रायलिंकले अविजित ७७ रन बनाए भने ओपनर माइकल भान लिङ्गेनले ५१ रन बनाए। जान निकोल लफ्टी इटन १७ रनमा अविजित रहे। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले १-१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४६.५ ओभरमा १५७ रनमा अलआउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए। रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरेपनि अन्यबाट उल्लेख्य योगदान हुन सकेन। नेदरल्यान्ड्सको पिचमा नेपाली ब्याटरहरू संघर्ष गरेका थिए। नामिबियाका लागि जेजे स्मिथले ९.५ ओभरमा ३६ रन मात्र दिएर ६ विकेट लिए। बर्नार्ड स्कोल्ज र ज्याक ब्रासेलले २-२ विकेट लिए। नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ।






