Skip to main content

नेपाल कजाखस्तानसँग प्रतिस्पर्धामा

एफआईभीबी विश्व वरियतामा मान्यता प्राप्त प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो टोली कजाखस्तानसँग प्रतिस्पर्धा गर्न लागेको छ। पाकिस्तानको इस्लामावादमा आजदेखि सुरु हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज कजाखस्तानसँग भिड्ने छ। नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुने यस खेलमा नेपालले पहिलोपटक एफआईभीबी वरियतामा आएको प्रतियोगितामा सहभागिता जनाउँदैछ।

सेटर हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा युवा खेलाडीहरूको संख्या बढी छ, जसमा ६ जना खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गर्दैछन्। सेन्ट्रल एसियाका १४ सदस्य राष्ट्रमध्ये ६ टोलीले यसपटक काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्दैछन्, जसमा आयोजक पाकिस्तान र कजाखस्तान बलियो टोलीको रूपमा रहेका छन्। हाल नेपाल एफआईभीबी वरियतामा नभएको अवस्थामा कजाखस्तान ६४औं स्थानमा छ।

कजाखस्तानले केही समयअघि भारतमा भएको एभिसी मेन्स कप खेलेको थियो, जहाँ ११ टोलीमध्ये कजाखस्तान पाँचौं स्थानमा रह्यो। नेपाली टोलीमा हरिहजुर थापासँगै लिबेरो विनोद चन्दसँग एकभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ भने सुनिल बोहरा, पहल गहतराज, रविन नगरकोटी र नृपध्वज बस्नेतसँग एक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव रहेको छ। टोलीमा नेपाली घरेलु भलिबलका चर्चित खेलाडी हिमाल सुनारीसहित ६ नयाँ खेलाडीहरू पनि छन्।