
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को कार्यकारी समितिमा नेपालका राजकुमार कार्की पुनः निर्वाचित भएका छन्। सन् २०२६–२०३० कार्यकालका लागि कार्कीले दोस्रो उच्च मतसहित कुल मतको करिब ७० प्रतिशत प्राप्त गरेका हुन्। उनले यो अवसरलाई नेपाल र सम्पूर्ण नेपाली खेलकुदका लागि ऐतिहासिक क्षणको रूपमा लिएका छन्।
कार्कीले पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिँदै भने, “यो मेरो व्यावसायिक जीवनकै ठूलो सम्मानमध्ये एक हो।” उनले महासभाका प्रतिनिधि तथा आईएसएफ सदस्यहरूलाई सर्बियाका प्रधानमन्त्री डुरो माकुटले स्वागत र सम्मान गरेका थिए। कार्कीले आफूलाई विश्वास र अमूल्य समर्थन प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यकालमा समर्पण, इमानदारी र एकताका साथ सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाललाई विश्व मञ्चमा गर्वका साथ प्रतिनिधित्व गर्दै अझ सशक्त, समावेशी र गतिशील ISF निर्माणमा योगदान पुर्याउने बताए।






