
अस्ट्रियाले नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थीहरूका तीर्थस्थल बन्नबाट रोक्न उक्त भवनलाई प्रहरी कार्यालयमा परिणत गरेको छ। ब्राउनाउ आम इन सहरमा रहेको यो ऐतिहासिक भवनलाई करिब दुई करोड युरो खर्चमा पुनर्निर्माण गरी प्रहरी कार्यालयको रूपमा सञ्चालनमा ल्याइएको छ। मौथाउसेन कमिटीका प्रवक्ता रोबर्ट इटरले भवनको रूप परिवर्तन भए पनि यसको ऐतिहासिक पहिचान मेटाउन नसकिने बताएका छन्।
६ साउन, ब्राउनाउ आम इन (अस्ट्रिया) – नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्नबाट बचाउन अस्ट्रियाले उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा परिणत गरेको छ। लामो विवाद र कानुनी प्रक्रियापछि बुधबार नयाँ प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको हो। अस्ट्रियाली अधिकारीहरूले हिटलरको जन्मघरलाई प्रहरी कार्यालय बनाउने निर्णयले उक्त स्थानलाई नाजी विचारधाराको प्रतीकका रूपमा प्रयोग हुनबाट रोक्ने विश्वास व्यक्त गरेका छन्।
ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको १७औं शताब्दीको उक्त भवन करिब दुई करोड युरो खर्चमा पुनःनिर्माण गरिएको हो। निर्धारित समयभन्दा तीन वर्ष ढिलो सम्पन्न भएको पुनर्निर्माणपछि भवनको स्वरूप पूर्ण रूपमा परिवर्तन गरिएको छ। जर्मनी सीमासँग नजिक रहेको यस घरमा एडोल्फ हिटलर सन् १८८९ अप्रिल २० मा जन्मिएका थिए। पहिले पहेँलो रंगमा रहेको भवनलाई सेतो रंगले रंगिएको छ र प्रवेशद्वारमा प्रहरी कार्यालयको चिन्ह राखिएको छ।
सन् १९३८ मा नाजी जर्मनीले अस्ट्रियालाई जोड्दा करिब ६५ हजार अस्ट्रियाली यहुदीहरू मारिएका थिए भने थप एक लाख ३० हजारभन्दा बढीलाई देशनिकाला गरिएको थियो। यद्यपि, होलोकास्टप्रति आफ्नो ऐतिहासिक जिम्मेवारी पूरै स्वीकार नगरेको भन्दै अस्ट्रिया समय-समयमा आलोचित भइरहेको छ। यो भवन सन् १९१२ देखि एउटै परिवारको स्वामित्वमा थियो र सन् १९७२ देखि अस्ट्रियाली सरकारले यो भवन अपाङ्गता भएका व्यक्तिहरूको सेवा केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो। भवनको अन्तिम निजी मालिक गेर्लिन्डे पोमरले पुनःउपयोगका विभिन्न प्रस्तावहरूको विरोध गर्दै आएकी थिइन्।
सन् २०१६ मा अस्ट्रियाली संसदमात्र कानूनमार्फत भवन अधिग्रहण गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतले करिब आठ लाख १० हजार युरोमा उक्त सम्पत्ति खरिद गर्ने सरकारी निर्णयलाई अनुमोदन गरेको थियो। भवन भत्काउने, सङ्ग्रहालय बनाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने विकल्पमा लामो छलफल भए पनि इतिहासविद्हरूले भवन ध्वस्त नगर्नुपर्ने धारणा राखेका थिए। अन्ततः विशेषज्ञ आयोगको सिफारिसमा यसलाई प्रहरी कार्यालय बनाउने निर्णय गरिएको हो। सरकारले स्थायी प्रहरी उपस्थितिले नाजी विचारधाराप्रति कुनै सहिष्णुता नराख्ने र भवनलाई राजनीतिक रूपमा तटस्थ बनाउने विश्वास व्यक्त गरेको छ।
यातना शिविरबाट वाँचेकाहरूको संस्था मौथाउसेन कमिटी अस्ट्रियाका प्रवक्ता रोबर्ट इटरले भने, भवनको रूप परिवर्तन गर्दा पनि नव–नाजी समर्थकहरूको तीर्थयात्रा रोक्न सहज नहुने विश्वास नगरेका छन्। उनी भन्छन्, “यो इतिहासकै कुख्यात नरसंहारकर्तामध्ये एकको जन्मस्थल भएकाले यसको ऐतिहासिक पहिचान मेटाउन सम्भव छैन।”






