अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्त १ देखि जेनेरिक औषधि आयातमा दुई वर्षसम्म शून्य प्रतिशत कर लाग्ने घोषणा गर्नुभएको छ। ट्रम्पका अनुसार, एक वर्षपछि कर बढाएर १०० प्रतिशत र त्यसपछि २०० प्रतिशत पुर्याइनेछ। यो नीतिको उद्देश्य जेनेरिक औषधिको उत्पादन स्वदेशमै बढाउँदै अमेरिकी नागरिकको सुरक्षा सुनिश्चित गर्नु रहेको ट्रम्पले उल्लेख गर्नुभएको छ।
ट्रम्पले बुधबार बिहान ट्रुथ सोसलमा यो घोषणा गरेका छन्। उनले लेखेका छन्, ‘अगस्ट १, २०२६ देखि अमेरिकामा ल्याइने सबै जेनेरिक औषधिहरूमा दुई वर्षको अवधिसम्म कर शून्य प्रतिशत रहनेछ। त्यसपछि एक वर्षको अवधिका लागि कर बढाएर १०० प्रतिशत पुर्याइनेछ र त्यसपछि यो २०० प्रतिशत हुनेछ।’
उनले भनेका छन्, ‘यो कदम जेनेरिक औषधिको उत्पादनलाई अमेरिकामा ल्याउनका लागि चालिएको हो। तोकिएको समयभित्र अमेरिकामा औषधि बनाउनका लागि कारखाना र आवश्यक सामग्री नल्याउने कम्पनीहरूलाई जरिवाना गरिनेछ।’ ट्रम्पले उल्लेख गरे, ‘यो नीतिको उद्देश्य अमेरिकाका मानिसहरूको सुरक्षा गर्नु हो। पेटेन्ट भएका, ब्रान्ड वा नयाँ औषधिहरूलाई लिएर बनाइएका नीति जुन धेरै सफल रहेको छ, त्यस्तै जारी रहनेछ। पूरै अमेरिकामा औषधि बनाउने कारखानाहरू धेरै ठूलो स्तरमा बन्दैछन्, जुन पहिले कहिल्यै नभएको थियो।’






